राष्ट्रसंघद्वारा द्वन्द्वरत समूहहरुको भर्त्सना

  • 18 अगस्ट 2016
लडाईं
Image caption सिरियाली द्वन्द्वका कारण लाखौं मानिसका लागि सहायता सामग्री पुग्न सकिरहेको छैन

संयुक्त राष्ट्रसंघीय विशेष दूत स्टफान डु मिस्टुराले सिरियाका घेरावन्दीमा परेका शहरहरुमा सहायता सामग्री लैजान नदिएको भन्दै त्यहाँका द्वन्द्वरत समूहहरुको भर्त्सना गरेका छन्।

एक पत्रकार सम्मेलनमा बोल्दै उनले सिरियाका लागि मानवीय कार्यदलका काम कारवाही स्थगित गरिएको जानकारी दिए।

सिरियामा सरकारी र विद्रोही फौजबीच जारी द्वन्द्वका कारण लाखौं मानिसहरुले गम्भीर मानवीय संकट भोगिरहेका छन्।

सिरियामा द्वन्द्व चर्किदै गर्दा त्यहाँ फसेका गैरसैनिक मानिसहरुको सहायताको निम्ति राष्ट्रसंघले ४८ घण्टे मानवीय युद्धविराम लागू गर्न पटक पटक आग्रह गरिसकेको भएपनि द्वन्द्वरत पक्षबाट कुनै प्रतिक्रिया नआएको बताइन्छ।

मानवीय संकट

सिरियाको द्वन्दवमाझ मानवीय संकट गहिरिंदै जाँदा राष्ट्रसंघीय विशेष दूत मिस्टुराले विगत एक महिनाको अवधिमा सहायता सामग्री बोकेको गाडीको एउटा लस्कर पनि सिरियाको द्वन्द्वग्रस्त क्षेत्रमा पुग्न सकिरहेको छैन।

“गाडीको एउटा लस्कर पनि सिरिया पुग्न सकिरहेको छैन। किन? किनभने लडाईं चर्किरहेकै छ।”

उनले जिनिभामा बसेर बैठक गर्नुको कुनै अर्थ नभएको पनि बताए।

सिरियाभित्र लडाई चर्किरहेको, ब्यारेल बमहरु खसिरहेका, हवाइ आक्रमण नरोकिएको र आत्मघाती हमलाहरु पनि जारी रहेको उनले पठाए।

त्यही कारणले त्यहाँ मानवीय संकट भोगिरहेका लाखौं मानिसका लागि सहायता सामग्री पुग्न सकिरहेको छैन।

तर सिरियाको अवस्थाबाट निकै क्रुद्ध सुनिएका मिस्टुराले अगष्ट महिनामै सिरियाली पक्षबीच वार्ता सुरु हुने सम्भावना रहेको बताए।

अवस्थामा सुधार ल्याउनका लागि उनले अमेरिका र रुसले थप कदमहरु चाल्नु पर्नेमा जोड दिए।

जटिल

स्थिति जटिल रहेको भएपनि मिस्टुराले लडाईंका बीच ४८ घण्टे युद्धविराम लागू गरिनु पर्नेमा जोड दिए।

उनका अनुसार अवस्था सामान्य हुन सकेमा मानवीय सहायता बोकेका ट्रकका लस्करहरु सिरियाका द्वन्द्वग्रस्त इलाकामा जान सक्छन्।

राष्ट्रसंघको भनाइमा ट्रकहरुमा सामान भरिसकिएको छ र ती कुनैपनि बेला गुड्नका लागि तयार छन्।

ती ट्रकमा राखिएका मानवीय सहायता सामग्रीहरु सिरियाली द्वन्दवको चेपुवामा परेका लाखौं मानिसहरुका लागि उपयोगी हुन सक्ने उसको भनाइ छ।