पौडीबाज लुटिएको विषय असत्य: रियो प्रहरी

  • 19 अगस्ट 2016
तस्वीर कपीराइट AP

आफुहरु रियोमा लुटिएको बताएका अमेरिकाका ओलिम्पिक स्वर्णपदक विजेता चारजना पौडीबाज कुनै अपराधको शिकार नभएको त्यहाँको प्रहरीले जनाएको छ।

रियोका प्रहरी प्रमुख फर्नान्डो भलोजुले ती मध्ये एक वा धेरै पौडीबाज बरु त्यहाँस्थित एक पेट्रोल स्टेशनको तोडफोडमा सामेल रहेको सञ्चारकर्मीलाई बताएका छन्।

भलोजुले भनेका छन्, सशस्त्र सुरक्षा गार्डले हस्तक्षेप गरेपछि पौडीबाजहरुले पेट्रोल स्टेशनमा पैसा तिरेको र त्यहाँबाट निस्किएको बताएका छन्।

प्रमाण

एकजना पौडीबाजले जथाभावी व्यवहार देखाउन थालेपछि सुरक्षागार्डले न्यायसंगत रुपमा बन्दूक तेर्स्याएका थिए।

चारमध्ये तीनजना पौडीबाजलाई ब्रजिल छोड्नबाट रोक लगाइएको छ।

चौथो रायन लोक्टे भने सोमबार अमेरिका फर्किएका छन्। गानार बेन्च र ज्याक कोंगरलाई बुधबार राति रियो द जनिरोस्थित विमानस्थलबाट अमेरिका जान रोक लगाइएको थियो।

र, त्यसयता उनीहरुमाथि प्रहरीले सोधखोज गर्दैआएको छ।

टोलीका अर्का सदस्य जेम्स फिगन पनि ब्रजिलमै छन् र उनले आफुले त्यहाँका अधिकारीहरुलाई सघाइरहेको बताएका छन्।

चारमध्ये कम्तीमा एक पौडीबाजले रियोस्थित पेट्रोल स्टेशनको शौचालय तोडफोड गरेको भिडियो प्रमाण आफूहरुसँग भएको प्रहरीले जनाएको छ।

क्षमा

उनीहरुले रियो शहरको बदनाम गरेकाले त्यहाँका मानिसहरु दुखी भएको भन्दै खेलाडीहरुले माफी माग्नुपर्ने प्रहरीले बताएको छ।

रियोको प्रहरी अधिकारी फर्नान्डो भलोजुले भने, "माफी रियोका बासिन्दाहरुसँग माग्नुपर्छ जसको सहरको काल्पनिक कुराका आधारमा बदनाम गरिएको छ। हामीलाई थाहा छ यो कल्पना हो। चोरी भएको छैन।"

उनले धेरैलाई प्रभाव पार्न सक्ने लोकप्रिय व्यक्तिहरुसँग आफुहरुले सामना गरिरहेको भन्दै सार्वजनिक रुपमा कसरी व्यवहार गर्नु पर्छ भन्ने तिनले थाहा पाउनु पर्ने बताए।

तिनले क्षमा मागे त्यो स्वागतयोग्य हुने उनले बताए।

एकजना अनुसन्धानकर्ताले भनेका छन्, न्यायाधीशले ती खेलाडीलाई सचेत गराएर ब्रजिल छोड्ने अनुमति दिनसक्छन्।