इस्लामवादीद्वारा सम्पदा नष्ट गरेको स्वीकार

  • 22 अगस्ट 2016
तस्वीर कपीराइट AP

अन्तर्राष्ट्रिय फौजदारी अदालतको एउटा अभूतपूर्व मुद्दामा एकजना इस्लामवादी लडाकुले मालीको टिम्बक्टुमा सांस्कृतिक सम्पदा नष्ट गरेको स्वीकार गर्दै क्षमायाचना गरेका छन्।

अहमद अल फाकी अल माह्दीले आफुले गरेको कामको बारेमा आफू धेरै दुःखी भएको भन्दै माफी मागेका थिए।

अल माह्दीमाथि सन् २०१२ मा उक्त विश्व सम्पदा स्थलमा रहेका ऐतिहासिक संरचनाहरु भत्काउने समूहको नेतृत्व गरेको आरोप लागेको थियो।

अल माह्दीले अदालतमा आफुले गहिरो पश्चाताप गरेको भन्दै अरु मुसलमानहरुलाई आफ्नो जस्तो अपराध नगर्न आग्रह गरे।

पहिलोपटक

हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले सांस्कृतिक सम्पदाको विनाश सम्बन्धी मुद्दा चलाएको यो पहिलो पटक हो।

उक्त अदालतमा इस्लामवादी लडाकु ठानिएका व्यक्तिमाथि मुद्दा चलाइएको र सन्दिग्ध व्यक्तिले आफ्नो अपराध कबुल गरेको पनि यो पहिलोपटक हो।

इस्लामवादीहरुले उक्त शहरमा रहेका समाधिस्थल र इतिहास देखि खगोलशास्त्रसम्मका विषयमा लेखिएका प्राचीन पाण्डुलिपिहरुलाई मूर्तिपुजाको रुपमा लिने गर्दछन्।

स्थानीय वासिन्दालाई ती स्थलमा प्रार्थना गर्नबाट रोक्न नसकेपछि माहदीले लडाकुहरुलाई ती स्थलहरु तोडफोड गर्ने निर्देशन दिएको अदालतका अभिलेखमा उल्लिखित छ।

दुःखदायी

त्यस समयमा संयुक्त राष्ट्रसंघको संस्कृति सम्बन्धी निकाय युनेस्कोले त्यो आक्रमण हामी सबैका लागि दुःखदायी खबर भएको भनेको थियो।

९ वटा समाधिस्थल र एउटा मस्जिदमाथि तोडफोड गरेकोमा अल माह्दीमाथि युद्ध अपराधको अभियोग लागेको थियो।

आफ्नो अपराध कबुल गर्दै माह्दीले आफ्नो कारणले भएको क्षतिको बारेमा पछुतो लागेको बताए।

त्यस्ता कदमले मानवताका लागि केही फाइदा नहुने भन्दै उनले संसारभरका मुसलमानहरुलाई आफुले गरेजस्तो काममा संलग्न नहुने सुझाव पनि दिए।

उनले आफ्नो अपराध स्वीकार गरेका कारण उनको मुद्दा यसै हप्ता सकिने सम्भावना छ।

उनलाई ३० वर्षसम्मको जेल सजाय हुनसक्छ।

अध्ययन केन्द्र

टिम्बक्टु नगर १३ औं देखि १७ औं शताब्दीसम्म इस्लाम अध्ययनको केन्द्र मानिन्थ्यो र सन् १९९८ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको थियो।

अल माह्दी टिम्बक्टुमाथि महिनौं कब्जा गर्ने अन्सार डीन समूहको सदस्य भएको अभियोजनकर्ताहरुले बताएका छन्।

अतिवादी लडाकु समूह अन्सार डीन अल कायदा समूहसंग सम्बन्धित छ।

उक्त समूहलाई फ्रान्सेली नेतृत्वमा गरिएको एउटा कारवाहीले मालीबाट निष्काशन गरेको थियो।