हालैका वर्षका केही विनाशकारी भूकम्प

  • 24 अगस्ट 2016

हालैका केहि विनाशकारी भूकम्प

२५ अप्रिल २०१५:

नेपालमा ७ दशमलब ८ म्यानिच्युडको भूकम्पले ८ हजारभन्दा बढी मानिसको ज्यान लियो भने लाखौं घरबारविहीन भए। त्यो, सन् १९३४ पछि नेपालले भोगेको सबैभन्दा खराब प्राकृतिक विपत्ति थियो। देशका केही भागमा भूकम्पले पहाडी गाउँहरुका ९८ प्रतिशत घरहरु ध्वस्त पारिदिएको थियो।

३ अगस्ट २०१४:

चीनको युनान प्रान्तमा ६ दशमलब १ म्याग्निच्युडको भूकम्पमा करिब ६ सय जनाको ज्यान गयो। हजारौं घरहरु नष्ट भए र पहिरोसमेत गयो। २४ सयभन्दा बढी मानिस घाइते भए।

१५ अक्टोबर २०१३:

फिलिपिन्सको बोहोल र सेबुमा ७ दशमलब २ म्याग्निच्युडको भूकम्पमा २ सयजना भन्दा बढी मानिसको ज्यान गएको विवरणहरु आएका थिए।

२५ सेप्टेम्बर २०१३:

७ दशमलब ७ म्याग्निच्युडको भूकम्पले पाकिस्तानको विकट दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानका सबै गाउँहरु ध्वस्त पार्दा ३ सयजना भन्दा बढी मानिसको ज्यान गयो। अवारन क्षेत्र सबैभन्दा बढी प्रभावित थियो।

२० अप्रिल २०१३:

चीनको ग्रामीण दक्षिणपश्चिमी प्रान्त सिचुवानमा ६ दशमलब ६ म्याग्निच्युडको भूकम्पमा १६० जनाको ज्यान गयो भने ७ हजार ५ सय घाइते भए।

११ अगस्ट २०१२:

केही मिनेटको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प इरानको तब्रिज र अहर शहर नजिक जांदा कम्तीमा २५० मानिसको ज्यान गयो र २ हजारभन्दा बढी मानिस घाइते भए।

२३ अक्टोबर २०११:

टर्कीमा ७ दशमलब २ म्याग्निच्युडको भूकम्पमा २ सयभन्दा बढी मानिसको मृत्यु भयो र १ हजार घाइते भए। सबैभन्दा बढी मानवीय क्षति इरसिस शहरमा भएको थियो जहां दर्जनौं भवनहरु भत्किएका थिए।

११ मार्च २०११:

जापानमा ८ दशमलब ९ म्याग्निच्युडको भूकम्पमा ज्यान गुमाउने वा हराउने मानिसहरुको संख्या २० हजारभन्दा बढी थियो। भूकम्पपछि उत्पन्न ठूलो सुनामीले सन् १९८६ को चेर्नोबिल घटनापछिकै संसारकै सबैभन्दा भयानक आणविक विपत्ति निम्त्यायो।

२२ फेब्रुअरी २०११:

६ दशमलब ३ म्यानिच्युडको भूकम्पले न्यूजिल्याण्डको क्राइस्टचर्च शहरलाई तहसनहस पारिदियो जसका कारण १ सय ६० जनाभन्दा बढीको ज्यान गयो। १ लाख घर क्षतिग्रस्त भए।

१४ एप्रिल २०१०:

६ दशमलब ९ म्याग्निच्युडको भूकम्पले चीनको चिंघाइमा कम्तीमा ४ सय जनाको ज्यान लियो।

२७ फेब्रुअरी २०१०:

चिलेमा गएको ८ दशलब ८ म्याग्निच्युडको भूकम्पमा ७ सय भन्दा बढी मानिसको ज्यान गयो।