अमेरिकामा साइबर आक्रमणबारे अनुसन्धान

  • 24 अगस्ट 2016
तस्वीर कपीराइट FBI

अमेरिकाको समाचार संस्था सिएनएनले भनेको छ, न्युयोर्क टाइम्स जस्ता अमेरिकाका सञ्चारमाध्यमहरुमा अनधिकृत रुपमा कम्प्युटर प्रणालीमा प्रवेश गरेर ह्याकरहरुले साइबर आक्रमण गरिरहेकोबारे FBI ले अनुसन्धान गरिरहेको छ।

डेमोक्रेटिक न्यासनल कमिटीलाई निशानामा पारेका रुसी ह्याकरहरुले नै सम्भवत: यो पछिल्लो आक्रमण पनि गरेको हुनसक्ने ठानिएको छ।

कम्प्युटर प्रणालीमा भएका साइबर आक्रमण न्युयोर्क टाइम्स र अन्य मिडिया समूहका संवाददाताहरुमाथि लक्षित गरिएको अमेरिकी सञ्चारमाध्यमहरुले बताएका छन्।

सचेत

अनधिकृत रुपमा कम्प्युटर प्रणालीमा प्रवेश गर्ने विधि, ह्याकिङबाट कति इमेल खाताहरु प्रभावित भए भन्ने स्पष्ट भएको छैन।

संघीय अनुसन्धानकर्ताहरुले कतै रुसी खुफीया संस्था त उक्त आक्रमणप्रति जिम्मेवार छैन भन्नेबारे अनुसन्धान गरिरहेको बुझिएको छ।

न्यूयोर्क टाइम्सकी प्रवक्ताले अनुसन्धान गरिरहेको बारे त पुष्टी गरिनन्। तर उनले, अन्य समाचार संस्था जस्तै न्यूयोर्क टाइम्स पनि कम्प्युटर प्रणालीमा अनधिकृत रुपमा आक्रमण गर्ने प्रयासविरुद्ध सचेत रहेको बताइन्।

संघीय निकायहरुले डेमोक्रेटिक न्यासनल कमिटी (एनडिसी) माथिको आक्रमणबारे अनुसन्धान जारी राखेका छन्।

संघीय निकायबाहेकका साइबर सुरक्षा विज्ञहरुले यसअघि एनडिसीमा भएको साइबर आक्रमणमा रुसी खुफिया संस्थाको हात रहेको बताएका थिए।