‘मेलम्ची सुरुङ्ग निर्माणलाई अझै एक वर्ष’

  • 25 अगस्ट 2016

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ्ग निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले गत वर्षको भूकम्प र नाकाबन्दीका कारण काममा बाधा परेको भन्दै क्षतिपूर्तिका लागि थप समय माग गर्ने तयारी गरिरहेको आयोजनाका एक अधिकारीले बताएका छ्न्।

इटालेली ठेकेदार कम्पनी सीएमसीले सुरूङ्ग निर्माणको लागि पाएको समय अर्को महिना सकिंदैछ।

ढिलाई

तर २७ किलोमिटर लामो सुरुङ्ग निर्माणको काम अझै २० प्रतिशत बांकी रहेको बताइएको छ।

ठेकेदारले थप समय माग्दा मेलम्ची आयोजनामा थप ढिलाई हुने चिन्ता बढेको छ।

गत वर्षको गएको भूकम्प र त्यस लगत्तैको नाकाबन्दीका कारण उब्जिएको इन्धन संकटले झन्डै १ वर्ष काम गर्न नपाएको भएतापनि हाल सो कम्पनीले सुरुङ्ग निर्माणको काममा निकै प्रगति गरेको मेलम्ची खानेपानी बिकास समितिले जनाएको छ।

तर क्षतिपूर्ति वापत उक्त कम्पनीले म्याद थपका लागि परामर्शदाता कम्पनी मार्फत मेलम्ची खानेपानी विकास समिति समक्ष अनुरोध गर्ने तयारी भइरहेको समितिका अधिकारीले बताएका छन्।

विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले ठेकेदार कम्पनीको समय थपको मागबारे निर्णय हुन बाँकी रहेको बताए।

उनले भने, "भूकम्प र त्यसपछिको प्रभावलाई बेवास्ता गरेर ठेकेदार कम्पनीलाई केही पनि सुविधा पाँउदैनस् भन्न त मिलेन। तर कति समय दिने भन्ने कुरामा चाँही मत भिन्नता हुन सक्छ।"

असर

मेलम्ची खानेपानीको परामर्शदाता कम्पनीको रुपमा इपीसा सर्भिसेस रहेको छ।

भूकम्पका कारण सुरुङ्गभित्र कुनै ठूलो क्षति नभएको बताइएपनि त्यहाँसम्म पुग्ने बाटाहरु बिग्रनु र इन्धनको अभावले पोहोर साल काममा लगातार असर परेको बताइन्छ।

समयमा काम सम्पन्न नहुंदा परियोजनाको लागत अझ बढेको जनाइएको छ भने यसैवर्ष काठमान्डू उपत्यकामा पानी पुर्याउने योजना एक वर्ष पर धकेलिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

कार्यकारी निर्देशक भट्टराईले भने, "अहिलेको कामको गतिलाई हेर्दाखेरी यो सुरुङ्ग निर्माण कार्य सम्पन्न गर्न अर्को एक वर्ष लाग्छ भन्ने अहिलेको मूल्यांकन हो।"

अर्बौं रुपियाँको लगानीमा निर्माण भइरहेको मेलम्ची खानेपानी आयोजनाको मुख्य अंशको रुपमा रहेको सुरुङ्ग निर्माणको काम शुरुमा चिनियाँ कम्पनी चाइना रेल्वले थालेको थियो।

तर उसले हात झिकेपछि नेपाल सरकारले इटालीको सीएमसी कम्पनीलाई सो काम दिएको थियो।