अब सडक जाँचमा थप कडाई: प्रहरी

  • 26 अगस्ट 2016
तस्वीर कपीराइट .
Image caption नेपालमा बर्षेनी दुई हजार मानिसले दुर्घटनामा ज्यान गुमाउने गरेका छन्

चितवनको नारायणगढ-मुग्लिन सडक खण्डमा कम्तिमा २२ जनाभन्दा बढीको ज्यान जाने गरी भएको दुर्घटनापछि सडक जाँच अझ कडा पार्ने प्रहरीले जनाएको छ।

बढ्दै गएको सडक दुर्घटना न्यनिकरणका लागि प्रहरीले हरेक तरिका अपनाउँदै आएपनि अब झन् कडाई गर्ने क्षेत्रीय प्रहरी कार्यलय हेटौंडाले बताएको हो।

दुर्घटना न्युनिकरणकोलागि प्रहरीका साथसाथै सडक विभाग, यातायात व्यवस्था विभाग पनि उतिकै सक्रिय हुनु पर्ने प्रहरीको भनाई छ।

क्षेत्रीय प्रहरी कार्यलयका प्रमुख नायब प्रहरी महानिरीक्षक पशुपति शर्माले भने, “हामीले गर्ने काम त कडाईका साथ गर्छौं तर सडक बनाउने र मर्मत गर्ने लगायतका काम अरु निकायले गर्ने हो, हामीले त मान्छे हिड्न नपाए पनि ज्यान जाने काम गर्न दिन्नौं नि।”

कारण

दुर्घटना न्युनिकरणको लागि मादक पदार्थ सेवन, लामो दूरीका सवारी साधनमा दुईजना चालक भए/नभएको जाँच गर्ने गरेको प्रहरीको भनाई छ।

शुक्रबार बिहानै करिब ४ बजे नारायणगढ-मुग्लिन खण्डको कालीखोला नजिक एउटा बस त्रिशुली नदीमा खस्दा कम्तिमा २२ जनाको ज्यान गएको थियो भने १६ जना घाइते भएका थिए।

तर दुर्घटनाको कारण अझैं पत्तो लागेको छैन।

दुर्घटनाका घाईतेले एक्कासी बस सडकबाट त्रिशुली नदीमा खसेपछि मात्र आफूहरुले थाहा पाएको बताएका छन्।

घाईतेले नै प्रहरीलाई फोनबाट खबर गरेपछि प्रहरी उद्धारको निम्ति पुगेको थियो।