सिरियाली नगरबाट मानिसहरु बाहिरिंदै

  • 26 अगस्ट 2016
तस्वीर कपीराइट Reuters

सिरियाको राजधानी दमस्कस नजिकैको दारेया नगरमा वर्षौंसम्म सरकारी घेराबन्दीमा रहेका हजारौं सर्वसाधारण त्यहांबाट बाहिरिन थालेका छन्।

सरकार र विद्रोही समूहहरुबीच सहमति भएपछि त्यहां फसीरहेका मानिसहरुले बाहिरिन पाएका हुन्।

त्यस्तो सहमति अन्तर्गत सयौं विद्रोही लडाकुलाई पनि नगर छोडेर जान दिईनेछ।

संयुक्त राष्ट्रसंघका एकजना वरिष्ठ अधिकारीले स्थिती अत्यन्त गम्भीर रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

सहमति

राजधानी दमस्कस नजिकैको उक्त नगरबाट रेड क्रेसन्ट संस्थाका एम्बुलेन्स सहित बसहरु निस्केका छन्।

विद्रोहीहरु विद्रोही नियन्त्रित शहर ईदलिब तर्फ जानेछन् भने सर्वसाधारण चाहिं सरकारी आश्रयस्थलमा जानेछन्।

सिरियाली सरकारले दारेयालाई सन् २०१२ मा घेराबन्दी गरेको थियो र त्यसपछि त्यहाँका बासिन्दाले गत जुन महिनामा मात्रै खानेकुरा लगायत ताजा सामग्री पाएका थिए।

सात सय हतियारधारीहरु र ४ हजार सर्वसाधारणलाई नगर बाहिर जान दिने सिरियाको सरकारी सञ्चार माध्यमले बताएको छ।

एएफपी समाचार संस्थाका अनुसार नगरबाट निस्किने पहिलो बसमा धेरैजसो बालबालिका महिला तथा वृद्ध मानिसहरु थिए।

राष्ट्रसंघ असंलग्न

राष्ट्रसंघका विशेष दूत स्टफान ड मिस्टुराको कार्यालयले दारेयाका मानिलाई सुरक्षा दिनु र उनीहरुको मञ्जुरीमा मात्रै बाहिर निकालिनु अत्यन्त महत्वपुर्ण रहेको बताएको छ।

एउटा वक्तव्यमा राष्ट्रसंघ त्यो प्रक्रियामा संलग्न नरहेको र परामर्श पनि नलिईएको बताईएको छ।

वर्षौंदेखि दारेयाका बासिन्दाले निरन्तर बमबारी र खाना पानी र बिजुलीको अभाव झेलिरहेका छन्।

दारेयामा सिरियाली सरकार विरुद्धका केही प्रारम्भिक विरोध प्रदर्शनहरु भएका थिए जुन पछि गएर आन्दोलनमा परिणत भयो।

दमस्कसभन्दा केही परबाट विद्रोहीहरु हट्नुले राष्ट्रपति बशर अल असदलाई फाईदा पुग्ने विश्लेषकहरु बताउँछन्।

अमेरिकी विदेशमन्त्री जोन केरीले आफ्ना रुसी समकक्षी सेर्गेई लाभ्रोभसंग जिनीभामा सिरियाका बारेमा वार्ता गर्दैगर्दा दारेया नगरलाई खाली गराउन थालिएको हो।