ढाका आक्रमणका योजनाकारको मृत्यु

  • 27 अगस्ट 2016
तस्वीर कपीराइट Reuters

ढाकास्थित एउटा क्याफेमा गत महिना २० जनाभन्दा बढीको ज्यान जानेगरी गराइएको हमलाको योजना बनाउने एकजना संदिग्ध व्यक्तिलाई गोली हानी मारिदिएको बांग्लादेशको प्रहरीले जनाएको छ।

प्रतिआतंकवादी कारबाहीका क्रममा तामिम चौधरी मारिएको आन्तरिक मामिलामन्त्री असादुज्जमान खानले पुष्टि गरे।

राजधानी ढाकाको बाहिरी भेगस्थित एउटा भवनमा प्रहरीले छापा मारेपछि शुरु भएको गोली हानाहानमा अन्य दुईजना संदिग्ध पनि मारिएको अधिकारीहरुले बताएका छन्।

प्रहरीका अनुसार मारिएका तामिम चौधरी बांग्लादेशी मूलका क्यानाडाका नागरिक थिए र उनी स्थानीय लडाकु समूह जामाएतुल मुजाहिद्दीन बांग्लादेशका एकजना मुख्य सदस्य थिए।

आक्रमण

पछिल्ला समयमा गराइएका विभिन्न आक्रमणको आरोप उक्त समूहमाथि लगाइएको छ।

आन्तरिक मामिलामन्त्री खानले भने, “हामीले आत्मसमर्पण गर्न भनेपनि उनीहरुले गोली चलाएर र ग्रिनेड प्रहार गरेर आफ्नो उपस्थिति जनाए। हाम्रा प्रहरी र विशेष सुरक्षा बलले संयमता देखाएपनि उनीहरुले फायरिङ शुरु गरे र त्यसपछि गोली हानाहानमा तीनजना लडाकु मारिए। हामीसँग हालसम्म भएका प्रमाण अनुसार मुख्य योजनाकार तामिम चौधरी पनि त्यसमा मारिए।”

ढाकास्थित होली आर्टिसन बेकरी क्याफेमा जुलाई १ तारिखमा लडाकुहरु प्रवेश गरेपछि आक्रमण शुरु भएको थियो।

प्रहरीले कारबाही शुरु गर्नुअघि १२ घण्टासम्म लडाकुहरुले मानिसहरुलाई बन्धक बनाएका थिए।

बन्धक

प्रहरीले १३ जनालाई जीवितै उद्धार गरेको थियो भने कारबाहीमा ६ जना बन्दुकधारी मारिएका थिए र केही गिरफ्तार भएका थिए।

तस्वीर कपीराइट AP

क्याफे आक्रमणमा २० जना बन्धक र दुईजना प्रहरी अधिकारी मारिएका थिए।

बांग्लादेशको इतिहासमै त्यो सबैभन्दा नराम्रो आक्रमण भएको बताइन्छ।

तथाकथित इस्लामिक स्टेट समूहले आक्रमण गराएको दाबी गरेपनि बांग्लादेश सरकारले प्रतिबन्धित जामाएतुल मुजाहिद्दीन समूहका लडाकुहरुले हमला गराएको भन्दै उक्त दाबी अस्वीकार गरेको थियो।