इटलीमा भूकम्पपीडितको सामूहिक अन्त्येष्टि

  • 27 अगस्ट 2016
तस्वीर कपीराइट AFP

इटलीमा गत बुधबारको शक्तिशाली भूकम्पमा मारिएका २ सय ९० जनामध्ये केहीको सामूहिक अन्त्येष्टि गरिएको छ।

क्षेत्रीय राजधानी अस्कली पिचेनो मा ३५ जना मृतकप्रति श्रद्धाञ्जली अर्पित गरिएको थियो।

बुधबार गएको भूकम्पमा ज्यान गुमाएका मानिसको सम्झनामा शनिबार इटलीमा राष्ट्रिय शोक घोषणा गरिएको छ।

शवहरु भेटिने क्रम जारी रहँदा मध्य इटलीको पहाडी क्षेत्रमा गएको उक्त भूकम्पबाट ज्यान गुमाउनेको संख्या बढ्दो छ।

समवेदना

सामूहिक अन्त्येष्टिमा उपस्थितमध्ये प्रधानमन्त्री म्याटेओ ओरेन्त्सी र राष्ट्रपति सैर्जो म्याटरेला पनि थिए।

दुवै जनाले अस्कली पिचेनोको एउटा हलमा जम्मा भएका मृतकका आफन्तप्रति समवेदना व्यक्त गरे।

दुईजना बालबालिकासहित ३४ जना मृतकका शव बाकसमाथि फूल राखिएका थिए।

यसभन्दा अघि म्याटरेलाले सबैभन्दा धेरै प्रभावित नगरहरु अमात्रीचे र अक्कुमोलीमा पुगेको क्षति हेर्न पुगेका थिए र पालमा बसिरहेका पीडितलाई भेटेका थिए।

भावुक

शव बाकसमध्ये एउटामा जुलिया रिनाल्डो को शव थियो जसकी बहिनी उनको शरीरमुनि भएका कारणले बाँचेकी थिईन्।

एकजना उद्धारकर्ताले जुलियाको शव बाकसमा आफू धेरै ढिलो आईपुगेकोमा क्षमा माग्दै भावुक चिट्ठी छोडेकी छिन्।

शव बाकसहरुलाई नजिकैको चिहानघर आर्क्वाता लगिने एकजना स्थानीय अधिकारीले आन्सा समाचार संस्थाले बताएका छन्।

धेरैजसो मृतक इटलीका नागरिक थिए तर मारिनेमध्ये थुप्रै विदेशी पनि थिए।

परकम्प जारी

तस्वीर कपीराइट AFP

शनिबार बिहानै एउटा ४ रिक्टर स्केलको कम्पनसहित थुप्रै परकम्पहरु आएका थिए।

इटलीका वैज्ञानिक अधिकारीहरुले प्राप्त गरेको भूउपग्रहका तस्वीरहरुमा एउटा अतिप्रभावित गाउँ अक्कुमोली भूकम्पका कारण २० सेन्टिमिटर भासिएको देखाएको छ।

इटलीले भूकम्पमा ज्यान गुमाएका मानिसको सम्झना गरिरहँदा देशभर राष्ट्रिय झण्डा आधा झुकाइएका छन्।

अमात्रीचेमा मात्रै २०० जनाको ज्यान गएको छ।

कम्तीमा ३ सय ८८ जना घाईतेको अस्पतालमा उपचार गरिएको छ भने २ हजारभन्दा बढी विस्थापित भएका छन्।

६ दशमलव २ रिक्टर स्केलको उक्त भूकम्प बुधबार बिहानै रोमभन्दा १०० किलोमिटर उत्तरपूर्वमा गएको थियो।

सरकारको आलोचना

सन् २००९ मा एउटा भूकम्पमा परेर ३ सयजनाले ज्यान गुमाएको घटनापछि भूकम्पमा मानिसको ज्यान बचाउन नसकेको भन्दै इटलीको सरकारको आलोचना गरिएको छ।

ऐतिहासिक नगरहरुले भूकम्पप्रतिरोधक भवन बनाउने नियम पालना गर्नु पर्दैन र कतिपय नयाँ भवन बनाईंदा पनि ती नियम पालना गरिंदैनन्।

प्रधानमन्त्री ओरेन्त्सीले बासिन्दाहरुलाई आपतकालीन कोष उपलब्ध गराएका छन् र कर माफी दिएका छन्।

कमसल निर्माणका बारेमा भएको आलोचनाको सामना गर्न उनले घटलीका घर नामक नयाँ कार्यक्रमको पनि घोषणा गरेका छन्।

तर इटलीले पूर्णतया भूकम्पप्रतिरोधक घर बनाउन सक्छ भनेर सोच्नु मुर्खता हुने पनि उनले बताए।