सिरियाबारे अमेरिका र रुसबीच ‘प्रष्टता’ वृद्धि

  • 27 अगस्ट 2016
तस्वीर कपीराइट AFP

सिरियाको द्वन्द्व रोक्ने बारे रुससंग अधिकांश विषयमा प्रष्टता हासिल भएको अमेरिकी विदेश मन्त्री जन केरीले बताएका छन्।

आफ्ना रुसी समकक्षी सेर्गेई लाभ्रोभसंगको लामो वार्तापश्चात अब केही थोरै विषयमात्र सल्टाउन बाँकी रहेको उनले बताए।

प्रयास

अमेरिका तथा रुसका विदेशमन्त्रीहरु सिरियामा द्वन्द्व रोक्न गरिएको यस अघिका प्रयास केही महिना अगाडि नै धरमराएपछि तिनलाई पुन: व्युँताउने उद्देश्यले जिनिभामा भेला भएका हुन्।

वार्तापछि केरीले आफुहरु नजिक पुगेको तर सम्झौता भइनसकेको बताए।

बाह्र घण्टाको वार्तापश्चात उनले अधिकांश प्राविधिक विषयमा कुराकानी सकिएको र बाँकी रहेका मुद्दा जिनिभामा रहेका विज्ञहरुले आगामी दिनमा सल्टाउने उनको भनाई थियो।

लाभ्रोभले पनि सम्वाददाताहरुसंग बोल्दै दुई देशमाझ रहेका गलत बुझाई घटाउन सकिएको भनेका छन्।

सिरियाको राजधानी दमस्कस नजिकैको दराया क्षेत्रमा चार वर्ष लामो सरकारी घेराबन्दीपश्चात त्यहाँका मानिसहरुलाई ठाउँ छाड्न अनुमति दिइएको घटनालगत्तै यी वार्ता भएका छन्।

सिरियामा युद्धविराम गराउन र शान्ति वार्ता पुन: शुरु गराउन दुई देश बीच जासुसी सूचना बाँड्ने, अझ सैन्य कारवाहीमा पनि मिलेर अघि बढ्ने लगायतका विषयमा सहमति गर्ने प्रयास भइरहेको छ।

तस्वीर कपीराइट

तर विश्लेषकहरु भन्छन् सिरियामा युद्धरत विभिन्न समूहलाई समेट्ने काम कठिन हुनेछ।