फार्क विद्रोहीले युद्धविराम घोषणा गर्ने

  • 28 अगस्ट 2016
तस्वीर कपीराइट AP

कोलम्बियाका फार्क विद्रोहीहरुले उनीहरु निर्णायक युद्धविराम घोषणा गर्न तयार रहेको बताएका छन्।

उक्त कदमले पाँच दशकदेखिको युद्ध अन्त्य गर्दै उनीहरुलाई कानुन सम्मत गैरफौजी राजनीतिक अभियान सञ्चालन गर्न बाटो खोल्नेछ।

आईतबार टिमोचेन्को भनिने फार्कका नेताले त्यहाँका राष्ट्रपतिले सेनाका लागि पनि तय गरेको समय अर्थात मध्यरातबाट युद्ध विराम लागु भएको घोषणा गर्दैछन्।

क्युबाको राजधानी हभानामा हस्ताक्षर भएको उक्त शान्ति सम्झौतालाई अक्टोबर दुई तारिखमा मा हुने मतदानबाट अनुमोदन गर्ने लक्ष्य लिइएको छ।

गति

केही दिन पहिले शान्ति सम्झौताको घोषणा भएपछि कोलम्बियामा पाँच दशक लामो गृहयुद्ध अन्त्य गर्ने प्रक्रियाले गति लिएको छ।

तस्वीर कपीराइट AFP

फार्क विद्रोही समूहले सन् १९६५ यताको आफ्नो १० औँ सम्मेलन दक्षिणी कोलम्बियाको विकट क्षेत्रमा १३ देखि १९ सेप्टेम्बरसम्म आयोजना गर्ने बताएको छ।

उसका सदस्यहरुले उक्त भेलाबाट सरकारी वार्ताकारहरुसँग केही दिन पहिले हभानामा गरिएको शान्ति सम्झौता अनुमोदन गर्ने र सशस्त्र संगठनलाई अब निरन्तरता नदिने निर्णय गर्ने बताइएको छ।

चार वर्ष चलेको पछिल्लो शान्ति प्रकियाको यो ऐतिहासिक कोशे ढुङ्गा हुनेछ जसले पचास वर्षको युद्धलाई समाप्त पार्नेछ।

कोलम्बियाको गृहयुद्धले २ लाख ६० हजार जनाको ज्यान लिएको छ र झण्डै ७० लाख मानिसहरुलाई विस्थापित बनाएको छ।

तर विद्रोहीहरुको सम्मेलनबाटै सबै कुरा भने निर्णय हुने छैन।

अक्टोबर महिनाको शुरुमा कोलम्बियाका जनताले जनमत संग्रह मार्फत शान्ति सम्झौतालाई स्वीकार या अस्वीकार गर्नेबारे निर्णय गर्नेछन्।