गबोनमा विपक्षीको ‘कार्यालयमा हमला’

  • 1 सेप्टेम्बर 2016
जन पीङ तस्वीर कपीराइट
Image caption गबोनका विपक्षी दलका नेताले आफ्नो पार्टी मुख्यालयमा बम हमला भएको बताएका छन्

गबोनमा हिंसाका खबरमाझ विपक्षी नेता ज‌ँ पीङले राष्ट्रपतिका सुरक्षा फौजले आफ्नो दलको मुख्यालयमा बम हमला गरेको र दुई जनाको हत्या गरेको बताएका छन्।

तर सरकारका एक प्रवक्ताले पछिल्लो सुरक्षा कारबाही राजधानीमा राष्ट्रियसभामा आगो लगाउने समुहविरुद्ध लक्षित रहेको बताएका छन्।

वर्तमान राष्ट्रपति अली बोङ्गो झिनो मतले विजयी भएको खबर लगत्तै प्रदर्शनहरु सुरु भएका थिए।

राष्ट्रपतिय चुनावमा करिव ६ हजार मतको अन्तरले पराजित भएका विपक्षी नेता जँ पीङले बीबीसीलाई बताएअनुसार मध्य राती अचानक हेलिकोप्टरबाट आक्रमण सुरु भएको थियो।

उनले रातीको समयमा आफ्नो पार्टी मुख्यालयमा सुरक्षा फौजले आक्रमण गर्दा दुई जना मारिएको र कयौं घाइते भएको बताए।

आरोप

उनका अनुसार हेलिकोप्टर र जमीनबाट गरिएको आक्रमणका क्रममा दुई जनाको ज्यान गएको र कयौं व्यक्ती घाइते भएका छन्।

उनले राष्ट्रपतिको फौजले आफ्नो पार्टी मुख्यालयमा हेलिकोप्टरबाट बम हानेको र आफ्नै जनतालाई मार्ने काम गरेको आरोप लगाए।

सरकारका एक प्रवक्ताले चाँही बुधबार राती राष्ट्रिय सभाको भवनमा आगो लगाउने कार्यमा संलग्न समुहविरुद्ध सुरक्षा कारबाही गरिएको बताए।

राजधानी लिब्रभीलमा बिहिबार पनि बन्दुक पड्किएका र देशका विभिन्न स्थानमा हिंसात्मक भीडन्त भएको बताइएको छ।

बुधबार घोषित चुनावी परिणाम अनुसार अली बोङ्गोले ४९ प्रतिशत मत हासिल गरि दोस्रो कार्यकालका लागि चुनिएका थिए भने पीङले ४८ प्रतिशत मत हासिल गरे।

पूर्व कुटनीतिज्ञ रहेका पीङले चुनावमा धाँधली भएको आरोप लगाएका थिए।

संयम

लगत्तै परिणामको विरोधमा प्रदर्शन सुरु भएका थिए।

बिहिबार पनि स्थिति सामान्य नभएका खबरमाझ इयुले गबोनमा संयमका लागि आव्हान गरेको छ।

बोङो सन् २००९मा राष्ट्रपति चुनिएपछि पनि हिंसा भड्किएको थियो।

उनले आफ्ना पिता अफ्रिकामै सबभन्दा लामो समयसम्म राज्यसत्ता सम्हालेका नेता ओमार बोङोबाट सत्ताको बागडोर हात लिएका थिए।