मेक्सिकोको सीमामा पर्खाल लगाउने अडान

  • 1 सेप्टेम्बर 2016
तस्वीर कपीराइट AFP

अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले मेस्किकोको सीमा क्षेत्रमा पर्खाल लगाउनुपर्ने आफ्नो यसअघिको आह्वानको बचाउ गरेका छन्।

चुनावी प्रचारप्रसारका क्रममा उनले मेक्सिकोले नै पर्खाल निर्माणको खर्च गर्ने विषय बारम्बार दोहोर्याएका थिए।

ट्रम्पले त्यस्तो पर्खाल निर्माणका लागि कसले खर्च गर्छ भन्ने विषयमा छलफल गरेनन्, जसलाई मेक्सिकोका राष्ट्रपतिले पछि खण्डन गरे।

मेक्सिकोका राष्ट्रपति इनरिके पेन्ये नियटोका प्रवक्ताले आफ्नो सरकारले त्यसको खर्च नबेहोर्ने स्पष्ट पारेको बताए।

छलफल

ट्रम्पले आफ्नो भनाई राखेसँगै नियटोले पर्खाल निर्माणका लागि आफ्नो मुलुकले खर्च नगर्ने विषयमा स्पष्ट पारेको भन्दै ट्वीट गरेका छन्।

ट्रम्पले घण्टौं लामो बैठकले पर्खाल निर्माणका लागि कसले खर्च गर्छ भन्ने प्रश्नबारे भने छलफल नभएको बताए।

उनले भने, "हामीले पर्खाल निर्माणबारे छलफल गर्यौं। हामीले पर्खालका लागि खर्च कसले गर्छ भन्ने विषयमा छलफल गरेनौं। त्यो हामी पछि गर्छौं। यो एकदमै प्रारम्भिक भेट हो। मलाई लाग्छ यो भेट उत्कृष्ट भयो।"

मेक्सिकोलाई सीमाक्षेत्रमा पर्खाल लगाउन बाध्य पार्ने विषय ट्रम्पको चुनावी अभियानको केन्द्रमा रहेको छ, जसले उनका समर्थकहरुबीच र्यालीका क्रममा चर्चा बटुलेको छ।

मेक्सिको सिटीमा भएको संयुक्त पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति पेन्ये नियटोले मेक्सिकनहरुमा ट्रम्पका विगतका टिप्पणीहरुले आघात पुगेको बताए।

सम्बन्ध

तस्वीर कपीराइट AP

तर विगतमा जे भएपनि अब आफूले सम्बन्ध सुधार गर्न चाहेको उनले बताए।

यसअघि मेक्सिकोका आप्रवासीहरुलाई 'हत्यारा' र 'बलात्कारी'को संज्ञा दिएका ट्रम्पले यसपटक तिनीहरु 'असाधारण' र 'गज्जब'का भएको बताए।

ट्रम्प मेक्सिकोपछि एरिजोनाको फिनिक्स जानेछन्, जहाँ उनले गैरकानुनी आप्रवाससँग जुध्ने उपायहरुबारे भाषण गर्नेछन्।

मत सर्वेक्षणहरुले पार्टीको गत महिनाको अधिवेशनपछि रिपब्लिकनहरुको स्थिति ओरालो लाग्दै गएको देखाएका छन्।

प्रमुख राज्यहरुमा र राष्ट्रिय रुपमै ट्रम्पकी प्रतिद्वन्द्वी डेमोक्रेटिक उम्मेद्वार हिलरी क्लिन्टन अल्पसंख्यक समर्थकमाझ ट्रम्पभन्दा बलियो देखिएकी छन्।