विवाद मिलाउन बोर्डको प्रस्ताव

  • 4 सेप्टेम्बर 2016
तस्वीर कपीराइट .

नेपाली क्रिकेटको लामो समयदेखिको विवाद निरुपणका निम्ति स्वतन्त्र क्रिकेट विकास बोर्ड गठन गरिने युवा तथा खेलकुद मन्त्रीले बताएका छन्।

निलम्बित अवस्थामा रहेको नेपाली क्रिकेटको समस्या सुल्झाउने प्रयासस्वरुप नेपाल आइपुगेका अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीका पदाधिकारीसँग आईतबार हुने छलफलमा यस विषयमा प्रस्ताव राखिने खेलकुद मन्त्री दलजीत श्रीपालीले बताए।

विवादित क्रिकेट संघका पदाधिकारीले पनि नियमानुसार बोर्ड गठन भए आफुहरुलाई स्वीकार्य हुने बताएका छन्।

प्रस्ताव

प्रधानमन्त्री प्रचण्ड, खेलकुदमन्त्री दलजीत श्रीपाली र आइसीसीका प्रमुख कार्यकारी अधिकृत डेविड रिचर्डसनसहितको टोलीबीच आईतबारका लागि तय भएको भेटमा क्रिकेट विकास बोर्ड गठनका निम्ति प्रस्ताव राख्न लागिएको हो।

त्यसबारे मन्त्री श्रीपालीले भने, "क्रिकेट बोर्डको अवधारणा अगाडि ल्याएको छु। अहिले कार्यदल गठन गरी तीन महिनामै निर्वाचन गर्ने, निश्चित समयमै विधान तयार गर्ने कुरा आइसीसी समक्ष राख्छु। औपचारिक तथा अनौपचारिक कुराकानीमा आइसीसी पनि यसप्रति सकारात्मक भएको मैले पाएको छु।"

यसअघि समेत बोर्ड गठन गर्ने विषय चर्चामा आएपनि हाल दुईवटा भिन्न अस्तित्वमा रहेका क्रिकेट संघको विवादको समाधान प्रस्तावित बोर्डबाट हुन सक्ने धारणा मन्त्रालयको देखिएको छ।

मन्त्री श्रीपालीले बोर्ड गठन गर्ने बताएपनि त्यसको निर्क्यौल प्रधानमन्त्रीसँगको भेटपछि आइसीसीले गर्ने निर्णयमा निर्भर हुने बताइएको छ।

स्वीकार्ने

निलम्बनमा परेका क्रिकेट संघका पदाधिकारीहरुले चाहिं हालको विधानमा बोर्ड गठन गर्ने कुनै प्रावधान नरहेपनि नियमसम्मत ढंगले गठन भए त्यसलाई स्वीकार्ने बताएका छन्।

दुईमध्येको एक निलम्बित क्रिकेट संघका महासचिव अशोकनाथ प्याकुर्यालले भने, "बोर्डको विषय आइसीसीले पनि मान्नुपर्यो। सरकारले त्यही बमोजिमको ऐन ल्याउनु पर्यो। त्यो ऐन बनेर अगाडि बढ्छ भने हामीले आपत्ति जनाउनु पर्ने केही छैन। तर अहिलेको अवस्थामा भने बोर्ड हाम्रो प्रावधानमा छैन।"

व्यवस्थापकीय असक्षमताको लामो श्रृंखला र अन्तत: दुईवटा क्रिकेट संघ बनेपछि आइसीसीले चार महिनाअघि नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो।

यद्यपि विवाद सुल्झाउन लगातार प्रयास गरिरहेको देखिएको आइसीसीबाट उसका प्रमुख कार्यकारी अधिकृतनै नेपाल आउनुलाई आइसीसीले नेपाली क्रिकेटलाई महत्व दिएको कतिपयको बुझाई छ।