क्रिकेट बोर्ड गठनका लागि सल्लाहकार समिति

  • 4 सेप्टेम्बर 2016

क्रिकेटसम्बन्धी विवाद सुल्झाउन नेपाल आएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीको टोलीले नेपालमा क्रिकेट बोर्ड गठनका लागि सल्लाहकार समिति बनाउने घोषणा गरेको छ।

प्रधानमन्त्री प्रचण्डसहित क्रिकेटसँग सम्बन्धित पदाधिकारीहरुलाई भेटेपछि काठमाण्डूमा आइतबार पत्रकार सम्मेलन गर्दै आइसीसीका प्रमुख कार्यकारी अधिकृतले नेपाली क्रिकेटको समस्या समाधानको बाटो उन्मुख भएको बताए।

नेपाली क्रिकेट हाल निलम्बित अवस्थामा छ।

पत्रकार सम्मेलनमा आइसीसीका प्रमुख कार्यकारी अधिकृत डेविड रिचर्डसनले दुई हप्ताभित्र कम्तीमा ७ सदस्यीय सल्लाहकार समितिको नाम घोषणा गर्ने बताए।

विश्वास

उक्त समितिले नेपालमा क्रिकेट बोर्ड गठनका लागि विधान निर्माण गर्ने बताउँदै उनले भने, “आइसीसीले उक्त सल्लाहकार समितिलाई सघाउनेछ। हामी यसबाट नेपाली क्रिकेटको ठोस निकास हुने विश्वासमा छौँ।”

विवाद सुल्झाउनका लागि सरकारको विश्वासिलो साथ खोजिरहेको आइसीसीको टोलीलाई प्रधानमन्त्री प्रचण्डले आइतबार आवश्यक सहयोग गर्ने विश्वास दिलाएपछि उनीहरु नयाँ समिति बनाउन सहमत भएको भेटमा सहभागी नेपाली अधिकारीहरुले बताएका छन्।

सल्लाहकार समिति गठनबारे विवादित दुईवटै क्रिकेट संघ पनि सहमत भएको बताइएको छ।

सरकारद्वारा गठित संघका महासचिव पवन अग्रवालले आफूहरुलाई प्रस्ताव गरिए सल्लाहकार समितिमा बस्न तयार रहेको बताएका छन्।

निलम्बन

खेलकुदमन्त्री बनेपछि आफ्नो पहिलो प्राथमिकता क्रिकेट विवाद सुल्झाउने बताएका मन्त्री दलजीत श्रीपालीले भने, “खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्बाट एक एकजना, विवादित दुई क्रिकेट संघबाट दुईजना र अरु स्वतन्त्र व्यक्ति गरी सबै पक्ष समेटेर सल्लाहकार समिति बनाउने निर्णय भइसकेको छ।”

सल्लाहकार समितिले कति समयभित्र विधान बनाउने विषयमा आइसीसीले प्रष्ट रुपमा केही नभनेपनि मन्त्री श्रीपालीले ३ महिनाभित्र समितिले काम सक्ने बताए।

यद्यपि सल्लाहकार समितिले काम पूरा नगरुञ्जेल नेपाली क्रिकेटमाथिको निलम्बन र रोक्का गरिएको सहयोग रकम फुकुवा नगर्ने आइसीसीले बताएको छ।