‘विश्व अर्थतन्त्र महत्वपूर्ण मोडमा’

  • 4 सेप्टेम्बर 2016
तस्वीर कपीराइट AP

चिनियाँ राष्ट्रपति सी जीनपीङले विश्वका २० ठूला अर्थतन्त्र भएका मुलुकका नेताहरु सहभागी ‘जी-ट्वेन्टी’ समूहको वार्षिक सम्मेलन उद्घाटन गर्दै विश्व नेताहरुलाई “फोस्रा कुरा” नगर्न सुझाव दिएका छन्।

उनले विश्वले अहिले बजारको नाजुक अवस्था र कम लगानीको चुनौती भोगिरहेको र अर्को प्रविधि वा ‌औद्योगिक क्रान्ति शुरु हुने कुनै संकेत नभएको बताए। ‘जी-ट्वेन्टी’ समूहको बैठक चीनमा पहिलो पटक आयोजना गरिएको हो।

हाङ्चौ शहरमा ‘जी-ट्वेन्टी’ समूहका नेताको वार्षिक आर्थिक सम्मेलनको शुरुमा बोल्दै राष्ट्रपति सीले विश्व अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको भएपनि वित्त र व्यापारका फाँटमा धेरै चुनौतीहरु रहेको बताए।

'आशा'

राष्ट्रपति सीले भने, “विश्व अर्थतन्त्रमा देखिएका जोखिम र चुनौतिमाझ अन्तर्राष्ट्रिय समुदायले हाङ्चौमा आयोजित ‘जी-ट्वेन्टी’ सम्मेलनबाट धेरै आशा राखेको छ।”

‘जी-ट्वेन्टी’ समूहको बैठकअघि अन्तर्राष्ट्रिय मुद्रा कोषले यो वर्षका लागि प्रक्षेपित विश्व आर्थिक वृद्धिदरलाई घटाउन सकिने चेतावनी दिएको थियो।

ब्रिटेनले युरोपेली संघ इयुबाट बाहिरिने भएपछि आइएमएफले विश्वको कूल ग्राहस्थ उत्पादनको वृद्धिदर सन् २०१६मा ३ दशमलव १ प्रतिशतमा झर्ने र सन् २०१७मा त्यो दर ३ दशमलव ४ प्रतिशतमा झर्ने प्रक्षेपण गरिसकको छ।

जारी ‘जी-ट्वेन्टी’ सम्मेलनमा अमेरिकी राष्ट्रपति बराक ओबामा अन्तिमपटक र ब्रिटिश प्रधानमन्त्री टरिजा मे पहिलोपटक सहभागी भइरहेका छन्।

सम्मेलनको सेरोफेरोमा सीले अमेरिकी राष्ट्रपति ओबामासँग दक्षिण चिनियाँ सागरका विवादबारे छलफल गरेका थिए।