प्रान्तीय चुनावमा मर्केललाई धक्का

  • 5 सेप्टेम्बर 2016
तस्वीर कपीराइट Reuters
Image caption एएफडी पार्टीले मर्कलको आप्रवासी नीतिको कडा विरोध गरिरहेको छ

जर्मन चान्सलर एङ्गेला मर्केलको पार्टिले उनको गृहक्षेत्र मक्लेनबर्ग वेष्ट पमरेनियाको प्रान्तीय चुनावमा राजनीतिक धक्का बेहोरेको छ।

उक्त चुनावमा उनको दल क्रिश्चियन डेमोक्रेटिक युनियन पार्टि तेश्रो स्थानमा खस्कने प्रारम्भिक चुनावी परिणामले देखाएका छन्।

उक्त नतिजालाई मर्केलको उदार आप्रवासी नीतिप्रतिको असन्तुष्टीका रुपमा हेरिएको छ।

उक्त प्रान्तीय निर्वाचनलाई सन् २०१७ मा हुने संसदीय चुनाव अघिको मुख्य परीक्षाका रुपमा लिइएको छ।

तेश्रो

आप्रवासन र इस्लाम विरोधी मुद्दा उठाएको अल्टरनेटिभ फर जर्मनी (एफडी) पार्टिले दोस्रो स्थानमा उक्लँदै २१ प्रतिशत मत पाएको छ भने पहिलो स्थानको एसपिडीले झण्डै ३० प्रतिशत मत ल्याएको देखिन्छ।

प्रारम्भिक नतिजा अनुसार मर्केलको सिडियुको पक्षमा १९ प्रतिशत मात्र मत खसेको देखिन्छ।

तस्वीर कपीराइट Getty Images
Image caption आप्रवासी संकटले जर्मनीलाई पछिल्ला वर्षमा विभाजित बनाइदिएको छ

विगतको पूर्वी जर्मनीमा पर्ने मक्लेनबर्ग वेष्ट पमरेनिया प्रान्तमा मतदान अघि जर्मनीका अरु दलहरुले मर्केलको सिडियुसँग सत्ता गठबन्धन नगर्ने घोषणा गरेका थिए।

आप्रवासन र इस्लामको विरोध गरेको एएफडी पार्टिले एकता र घरेलु सुरक्षाप्रति चिन्तित मतदातालाई तानेको देखिन्छ।

एएफडी अध्यक्ष फ्राउक पेइट्रीले भनिन्, “स्थापित पार्टिहरुले हारेका छन् किनभने उनीहरुले जनतालाई बारम्बर मूर्ख बनाइरहे। हाम्रोमा समस्या गैरकानुनी रुपमा आएका आप्रवासी हुन्। हामी युरो संकट बेहोरिरहेका छौँ किनभने जर्मन सरकारले युरोप परियोजनाको मृत्यु भइसकेको सत्यलाई नजरअन्दाज गरिरहेको छ।”

आगामी वर्षको आम चुनावअघिको महत्वपूर्ण परीक्षाका रुपमा हेरिएको प्रान्तीय चुनाव मर्केलको शरणार्थी नीतिमा नै केन्द्रित थियो।

एक वर्ष यता उनले ‘हामी गर्न सक्छौँ’ भन्ने नारा लगाएको भए पनि जर्मन मतदाताहरु आश्वस्त नभएको देखिन्छ।

प्रश्न

तस्वीर कपीराइट
Image caption सिरियाको युद्धग्रस्त क्षेत्रका मानिसका कारण युरोपमा शरणार्थीको चाप बढ्दै गएको छ

पछिल्लो नतिजालाई मर्केल शासनकालको अन्त्यको सङ्केतका रुपमा लिइएको छ।

उनले आगामी वर्ष चौथो कार्यकालका लागि लड्ने या नलड्ने केहि बताएकी छैनन्।

तर विश्लेषकहरुले बर्लिनमा हुने चुनावमा पनि उनको दलले यस्तै परिणाम ल्याए मर्केलको राजनीतिक भविष्यमाथि थप प्रश्नचिन्ह खडा हुने टिप्पणी गरेका छन्।

बीबीसीकी बर्लिन सम्वाददाता जेनी हिल भन्छिन्, “आफ्नो गृहक्षेत्रबाट आएको चुनावको परिणाम मर्केलका लागि लज्जास्पद देखिन्छ।”

मर्केलको लोकप्रियता पाँच वर्ष यताकै न्यून विन्दुमा पुगेको देखिन्छ।

तर हिल भन्छिन् अहिले नै उनको अन्त्य हुन लागेको छ भन्न मिल्दैन किनभने यस्ता अवस्थाबाट गुज्रँदा विगतमा पटक पटक उनी पुन: केन्द्रिय भूमिकामा फर्किएकी छन् र उनलाई गम्भीरतापूर्वक चुनौती दिनसक्ने अर्को अनुहार अहिले जर्मन राजनीतिक परिदृश्यमा देखिंदैन।