उत्तर कोरियाको परमाणु परीक्षणको भर्त्सना

  • 9 सेप्टेम्बर 2016
उत्तर कोरिया तस्वीर कपीराइट Reuters
Image caption उत्तर कोरियाले अब परमाणु अस्त्र राख्न सकिने नयाँ ‘वारहेड’ अर्थात युध्दशीर्षको विकास गरेको बताएको छ।

उत्तर कोरियाले ठूलो परमाणु परीक्षण गरेकोप्रति कडा आलोचना गर्दै दक्षिण कोरियाले सो कदमलाई “पागलशैलीको लापरवाही”को संज्ञा दिएको छ।

दक्षिण कोरियाले उत्तर कोरियाली नेता किम जङ्-अनले पागलले जस्तै लापरवाही गरिरहेको प्रतिक्रिया दिएको छ।

पछिल्लो परमाणु परीक्षणलाई उत्तर कोरियाले पछिल्लो समयमा गरेको पाँचौ यस्तो खालको परीक्षण भनिएको छ।

यो परीक्षण यसअघिका परिक्षणभन्दा दुई गुणा शक्तिशाली भएको ठानिएको छ।

शक्तिशाली

पछिल्लो विस्फोट दोस्रो विश्वयुद्धको बेला जापानको हिरोशिमामा खसालिएको बमभन्दा पनि शक्तिशाली भएको बताएको छ।

दक्षिण कोरियाली राष्ट्रपति पार्क गन-हेले पछिल्लो विस्फोटले उत्तर कोरियालाई “आत्मविनाश”को बाटोमा लैजाने र यसबाट उत्तर कोरियाविरुद्ध नाकाबन्दीहरु थपिने बताएकी छिन्।

अमेरिकामा, पेन्टानगले उत्तर कोरियाको पछिल्लो कदमले “गम्भीर रुपमा उत्तेजित पार्ने काम भएको” र त्यो राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रस्ताव विपरीत भएको प्रतिक्रिया दिएको छ। रुसले पछिल्लो परिक्षणलाई खतरनाक कदमको संज्ञा दिएको छ।

उत्तर कोरियाको एक प्रमुख मित्र शक्ति चीनले पनि उत्तर कोरियाको कदमको भर्त्सना गरेको छ।

जापानका प्रधानमन्त्री सिन्जो आबेले पछिल्लो परिस्थिति असह्य भएको प्रतिक्रिया दिएका छन्।

उत्तर कोरियाको भनाइमा पछिल्लो परिक्षणसंगै उस्ले नयाँ ‘वारहेड’ अर्थात युध्दशीर्षको विकास गरेको छ।

उस्ले त्यो युध्दशीर्षमा परमाणु अस्त्र राख्न सकिने बताएको छ।