परमाणु परीक्षणको कडा आलोचना

  • 10 सेप्टेम्बर 2016
उत्तर कोरिया तस्वीर कपीराइट Reuters
Image caption उत्तर कोरियाले अब परमाणु अस्त्र राख्न सकिने नयाँ ‘वारहेड’ अर्थात युध्दशीर्षको विकास गरेको बताएको छ।

उत्तर कोरियाले अहिलेसम्मकै "ठूलो" परमाणु परीक्षण गरेका विवरण बाहिर आएलगत्तै विश्व नेताहरुले सो कदमको कडा आलोचना गरेका छन्।

अमेरिकी राष्ट्रपति ओबामाले त्यो परीक्षण विश्व शान्तिका लागि ठूलो खतरा भएको बताए।

उत्तर कोरियाले ठूलो परमाणु परीक्षण गरेकोप्रति कडा आलोचना गर्दै दक्षिण कोरियाले सो कदमलाई “पागलशैलीको लापरवाही” भन्ने संज्ञा दिएको छ।

पछिल्लो परमाणु परीक्षणलाई उत्तर कोरियाले पछिल्लो समयमा गरेको पाँचौ यस्तो खालको परीक्षण भनिएको छ।

यो परीक्षण यसअघिका परिक्षणभन्दा दुई गुणा शक्तिशाली भएको ठानिएको छ।

शक्तिशाली

पछिल्लो विष्फोट दोस्रो विश्वयुद्धका बेला जापानको हिरोशिमामा खसालिएको बमभन्दा पनि शक्तिशाली भएको बताइएको छ।

दक्षिण कोरियाली राष्ट्रपति पार्क गन-हेले पछिल्लो विष्फोटले उत्तर कोरियालाई “आत्मविनाश”को बाटोमा लैजाने र यसबाट उत्तर कोरियाविरुद्ध नाकावन्दीहरु थपिने बताएकी छिन्।

अमेरिकामा पेन्टागनले उत्तर कोरियाको पछिल्लो कदमले “गम्भीर रुपमा उत्तेजित पार्ने काम भएको” र त्यो राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रस्ताव विपरीत भएको प्रतिक्रिया दिएको छ।

त्यस्तै रुसले पछिल्लो परीक्षणलाई खतरनाक कदमको संज्ञा दिएको छ।

उत्तर कोरियाको एक प्रमुख मित्र शक्ति चीनले पनि उत्तर कोरियाको कदमको भर्त्सना गरेको छ।

चीनले उत्तर कोरियालाई नि:शस्त्रीकरणप्रतिको आफ्नो प्रतिबद्धताको सम्मान गर्न आग्रह गरेको छ।

उत्तर कोरियाको छिमेकी जापानका प्रधानमन्त्री सिन्जो आबेले पछिल्लो परिस्थिति असह्य भएको प्रतिक्रिया दिएका छन्।

परीक्षण

उत्तर कोरियाको भनाइमा पछिल्लो परीक्षणसंगै उसले नयाँ ‘वारहेड’ अर्थात युध्दशीर्षको विकास गरेको छ।

उसले त्यसमा अब मध्यम दूरीका परमाणु अस्त्र राख्न सकिने बताएको छ।

प्योङयाङले सन् २००६ मा आफ्नो पहिलो परमाणु परीक्षण गरेको थियो।

लगत्तै उविरुद्ध नाकावन्दी लगाइए, तथापि उस्ले परमाणु परीक्षणको क्रम रोकेन।

तर नाकाबन्दीले उत्तर कोरियाको परमाणु कार्यक्रमलाई रोक्न सकेका छैनन्।