भारतमा विवादास्पद संझौता नगर्ने: प्रधानमन्त्री

  • 10 सेप्टेम्बर 2016
तस्वीर कपीराइट .
Image caption प्रधानमन्त्री प्रचण्डले भारतमा विवादास्पद संझौता नगर्ने बताएका छन्

प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न भारत भ्रमण उपलब्धिपूर्ण बनाउन निकै सावधानीपूर्वक तयारी गरिरहेको बताएका छन्।

त्यसका लागि सिंहदरबारमा व्यवसायी र विज्ञहरुसँग पटक पटक छलफल गरिसकेको र अब राजनीतिक दलहरुसँग कुराकानी गर्ने तयारी गरेको उनले बताए।

प्रचण्डले भारत भ्रमणलाई चुनौतीपूर्ण अवसरका रुपमा लिएको र नेपालमा संविधान जारी भए यता भारतले देखाएको प्रतिक्रियाको उसले समीक्षा गरोस भन्ने आफुले चाहेको बताए।

उनले भने, "गत सालमा हाम्रा अनुभव निकै तीता रहे। हामीले संविधान घोषणा गर्दै गर्दा र घोषणा गरेपछि जुन पीडा भोग्नुपर्यो, नाकाबन्दी भोग्नुपर्यो भारतमा त्यसको सही समीक्षा र अब फेरि त्यस्तो अवस्था अब कहिल्यै नआओस भन्ने वातावरण बनाउन केन्द्रित रहनेछ।"

विज्ञको सल्लाह

भारत भ्रमण सन्दर्भ पारेर गरिएको सार्वजनिक अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आठ वर्ष अघिको तुलनामा आफु परिपक्व भएकाले धेरै नबोल्ने बताए।

उनले विवादास्पद सन्धि संझौता आफुले नगर्ने उल्लेख गरे।

उनले भने, 'नेपाल-भारत सम्बन्धका र अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञहरुका कुरा गंभिरतापूर्वक सुनेको छु मैले। नेपाल राष्ट्रको स्वाधिनता, सार्वभौम सत्ता, भौगोलिक अखण्डताका विपक्षमा कुनै पनि कुरा हुने छैनन्; यति विश्वास म दिलाउन सक्दछु।'

अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले एकीकृत राष्ट्रिय परराष्ट्र नीति बनाउन, खुला सीमालाई नियन्त्रित गर्न, सुस्ता र कालापानीको मुद्दा उठाउन र नेपालमा सूक्ष्म व्यवस्थापन नगर्न भारतसमक्ष आग्रह गर्नुपर्ने बताएका थिए।

नेपाल इन्स्टिच्यूट फर इन्टरन्यानशन रिलेसन्स भन्ने संस्थाले गरेको अन्तरक्रिया कार्यक्रममा पन्ध्र मिनेट लामो वक्तव्यको अन्त्यतिर प्रचण्डले भने, 'त्यो पनि गर्न पाउँदैनस, यो पनि गर्न पाउँदैनस भन्नुहुन्छ भने नजा भन्नोस म जान्न। नेता लकिरको फकिर होइन । नेताले नेतृत्व लिने हो, खतरा मोल्ने हो त्यसो गर्न नदिने हो भने नेता बन्न सक्दैन।'

शंका

प्रधानमन्त्रीको भारत भ्रमणको विस्तृत एजेण्डा सार्वजनिक भइसकेको छैन।

सरकारकै कतिपय मन्त्रीले भ्रमण आपसी सम्बन्ध सुधार र पुराना आयोजनाको कार्यान्वयनका पाटामा सिमित हुने बताएका छन्।

तर प्रधानमन्त्री प्रचण्डले सार्वजनिक कार्यक्रममा खतरा मोल्ने उद्घोष गर्नुले कतिपयलाई सशंकित तुल्याएको छ।