युद्धविराम गराउन रुस र अमेरिका सहमत

  • 10 सेप्टेम्बर 2016
तस्वीर कपीराइट AFP
Image caption दुवै विदेशमन्त्रीले युद्धविरामको योजनाले राजनीतिक संक्रमणका लागि बाटो खोल्ने बताए

अमेरिका र रुसले सिरियामा जारी युद्ध अन्त्य गरेर राजनीतिक संक्रमण शुरु गर्ने योजनामा सहमति जनाएका छन्।

उक्त योजना अनुसार सिरिया सरकारले विपक्षीको नियन्त्रणमा रहेको क्षेत्रहरुमा सैन्य कारवाहीहरुको अन्त्य गर्नेछ।

रुस र अमेरिकाले इस्लामिक स्टेट र अल नुस्र भनिने विद्रोही समूहसँग लड्नका लागि एउटा संयुक्त केन्द्र स्थापना गर्ने छन्।

समन्वय

अमेरिकी विदेशमन्त्री जन केरी र उनका रुसी समकक्षी सेरगेइ लाभ्रोभको वार्तापछि युद्धविरामसम्बन्धी उक्त घोषणा भएको हो।

अमेरिकी विदेशमन्त्री जन केरीले उक्त योजनामा आगामी सोमबारको सूर्यास्तदेखि सात दिनसम्मका लागि राष्ट्रव्यापी रुपमा युद्धविराम गरिने विषय पनि समेटिएको बताए।

आफ्ना योजना साकार पार्न सत्तामा रहेका र विपक्षी दुवै पक्षले आफ्ना दायित्व पूरा गर्न आवश्यक रहेको केरीले जिनिभामा बताए।

यदि सिरिया सरकारले गम्भीरता देखाए उक्त योजना मान्नका लागि आफुहरु तयार रहेको विपक्षीहरुले संकेत गरेको पनि केरीले बताए।

यो योजना अहिलेसम्मकै नियमसंगत र दूरगामी भएको बताउँदै उनले भने, "यदि यो व्यवस्था कायम रहे हामीले सिरियाभर भइरहेको हिंसामा उल्लेखनीय कमी देख्नेछौं, र केही समयपछि अमेरिका र रुसले आतंकवादी समूहलाई परास्त गर्नका लागि केही समन्वयात्मक कदम चालेको पनि देखिनेछ।"

उनले यदि सबैपक्षले यसलाई कार्यान्वयन गरे सिरियाको भविष्यबारे राजनीतिक वार्ता गर्न सकिने पनि बताए।

सचेत

रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले उक्त सम्झौतालाई महत्वपूर्ण र व्यावहारिक भन्दै मस्कोले सिरियाका राष्ट्रपति बसर अल असदलाई उक्त सम्झौता पालना गर्न भनिसकेको बताएका छन्।

त्यसलाई पूरा गर्न सिरिया सरकार तयार रहेको पनि उनले बताए।

सम्झौताले मानवीय सहायताका लागि पनि बाटो प्रदान गर्छ।

केरीले युद्ध अन्त्यका लागि एलेप्पोसहितका घेराबन्दीमा रहेका र पुग्न गाह्रो हुने क्षेत्रमा पहुँच हुनुपर्ने बताएका छन्।

उनले युद्धविराम भएको सात दिनपछि अमेरिका र रुसले विद्रोही समूह इस्लामिक स्टेट र अल कायदासँग सम्बद्ध अल नुस्रका लडाकुहरुसँग लड्नका लागि एउटा संयुक्त केन्द्र स्थापना गरिने बताए।

लाभ्रोभले केही अविश्वास बाँकी रहेकोबारे सचेत गराउँदै केही मानिसहरुले सो सहमतिलाई कमजोर बनाउन सक्ने पनि बताए।