‘सिरिया विद्रोहीको कब्जाबाट मुक्त हुनेछ’

  • 12 सेप्टेम्बर 2016
असद तस्वीर कपीराइट Reuters
Image caption असदले आफ्नो देशलाई विद्रोहीको कब्जाबाट मुक्त गरी छाड्ने बताए

सिरियाका राष्ट्रपति असदले रुस र अमेरिकाको अग्रसरतामा हुन लागेको युद्धविराम लागू हुन केही घण्टाअघि बोल्दै विद्रोही समूहहरुबाट समग्र देशको नियन्त्रण फिर्ता लिने प्रतिबद्धता व्यक्त गरेका छन्।

उक्त युद्धविराम सम्झौता लागू हुने सुनिश्चितता कतिपय विद्रोही गुटहरुले खोजीरहेका बेला राष्ट्रपति असदको त्यस्तो भनाइ आएको हो।

सिरियाको मुख्य विपक्षी समूहले संयुक्त राज्य अमेरिकालाई कुन, कुन विद्रोही समूहहरुलाई आतंकवादी भनिएको हो र निशाना बनाइने हो त्यसबारे स्पष्ट पार्न भनेको छ।

असद सरकारले आफ्ना सबै विपक्षीलाई आतंकवादी भन्ने गरेको छ।

सम्झौता

राष्ट्रपति असदले, उनकै शब्दमा, आतंकवादीहरुको नियन्त्रणमा रहेका भन्दै देशका सबै भूभाग पुन: आफ्नो सरकारको नियन्त्रणमा ल्याउने बताएका थिए।

भाषणवाजीमा प्रयोग हुने शब्दहरु बेग्लै हुन्, तर सिरियामा आतंकवादी कसलाई भन्ने यकीन गर्नु महत्वपूर्ण हुन्छ किनभने अमेरिका र रुसबीचको सम्झौता पूर्ण युद्धविरामकाबारेमा भएको छैन।

मस्को र वाशिंगटन दुबैले कथित इस्लामिक स्टेट र अलकायदासंग सम्बद्ध लडाकुहरुविरुद्ध जारी हवाइ आक्रमणलाई निरन्तरता दिने बताएका छन्।

तिनीहरुलाई अन्य विद्रोही समूहहरुबाट अलग रुपमा हेर्न त्यति सजिलो छैन।

मुलधारका विद्रोही समूहहरुले अहिले नै उक्त युद्धविराम सम्झौताका कतिपय पक्षकाबारे आशंका व्यक्त गर्न थालिसकेका छन्।

त्यसैले यो सोझो हिसाबले बुझिने खाले युद्धविराम हुने छैन।

संघर्ष

लडाईंमा उल्लेखनीय ढंगले कमी देखिएको छैन र अलेप्पो शहरमा सरकारी सैन्य र विद्रोहीहरुबीच संघर्ष जारी छ।

त्यहां रहेका एकजना बीबीसी सम्बाददाताले छिटफुट रुपमा बमबारी भैरहेको बताए।

सोमबार सूर्यास्तसंगै प्रारम्भिक चरणमा ४८ घण्टे संघर्ष विरामको अवधि शुरु हुने बताइएको थियो।

विश्लेषकहरु भन्छन्, युद्धविराम लागू रहंदा स्थानीय तहमा त्यो कायम हुने र विस्तार हुने ठानिएको छ।

त्यसपछि घेराबन्दीमा परेका स्थानहरुमा बाह्य पहुँच संभव हुनेछ।