संविधान संशोधनको विकल्प सुझाउंदै प्रचण्ड

  • 14 सेप्टेम्बर 2016
prachanda तस्वीर कपीराइट bbc
Image caption प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणअघि नै संविधान संशोधन टुंग्याउन चाहेको तर विभिन्न कारणले ढिलाइ भएको बताएका छन्

प्रधानमन्त्री प्रचण्डले बुधबार हुने सरकार र तराई केन्द्रित दलका नेताहरुको संयुक्त बैठकमा संविधान संशोधनको ठोस प्रस्ताव अघि सार्ने बताएका छन्।

प्रदेशहरुको सीमाङ्कन हेरफेर, नागरिकता, निर्वाचन प्रणाली र भाषा विवादबारे चारवटा बुँदामा आफ्नो प्रस्ताव केन्द्रित हुने उनको भनाइ छ।

तर आन्दोलनरत संघीय गठबन्धनका नेताले हतारमा सहमति हुने सम्भावना नरहेकाले प्रधानमन्त्री दिल्लीबाट फर्किएपछि मात्र सार्थक वार्ता सुरु हुने टिप्पणी गरेका छन्।

जटिल

आफ्ना पूर्ववर्ती केपी ओलीकै शैलीमा प्रधानमन्त्री प्रचण्डले भारतको राजकीय भ्रमणको पूर्वसन्ध्यामा संविधान संशोधनको माग गरिरहेका आन्दोलनरत तराई केन्द्रित दलसँग औपचारिक वार्ता गर्न लागेका हुन्।

उक्त छलफलमा संविधान संशोधनको आफ्नो अवधारणा प्रस्तुत गर्ने प्रधानमन्त्री प्रचण्डले मंगलबार साँझ काठमाण्डूस्थित विदेशी सञ्चारमाध्यमलाई बताए।

उनले भने, “आजको औपचारिक वार्तामार्फत सरकार र मोर्चा गठबन्धनबिचमा संविधान संशोधनको विषय अघि बढाइन्छ, चार वटा विषय पहिचान गरिएका छन् जसमा सीमाङ्कन परिमार्जन र नागरिकता सम्बन्धी प्रावधानमा संशोधन गर्नुपर्ने देखिन्छ।”

सीमाङ्कन जटिल विषय भएकोले आयोगमार्फत टुंग्याउनुपर्ने र नागरिकतामा विगतमा अन्तरिम संविधानमा राखिएकै प्रावधान दोहोर्याउनुपर्ने प्रधानमन्त्रीको दृष्टिकोण छ।

त्यसबाहेक मातृभाषाको प्रयोग सम्बन्धमा भाषा आयोगको सुझावमार्फत अघि बढ्ने र सातै प्रदेशबाट माथिल्लो सदनको निश्चित संख्या बराबार प्रतिनिधित्व गराउने र बाँकी जनसंख्याका आधारमा निर्वाचित हुने प्रावधान राख्ने प्रस्ताव गर्ने उनले बताए।

हतार

संविधान संशोधन विधेयक संसदमा दर्ता गराएरै भारतको भ्रमणमा जान चाहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विपक्षी र सत्तारुढ दलबिच सहमति जुट्न नसकेको र आन्दोलनरत मोर्चाभित्रको विवादका कारण पनि ढिलाइ भइरहेको उल्लेख गरे।

तराई केन्द्रित दलले चाँहि संविधान संशोधनबारे प्रारम्भिक वार्ताहरु मात्रै भएको भन्दै तत्कालै सहमति जुट्ने सम्भावना नरहेको बताएका छन्।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बीबीसीसँग भने, “हतार हतारमा, हडबडमा संविधान संशोधन अघि बढाउँदा गढबढ हुँदैन? उहाँ आरामले भारत जानुभए हुन्छ र त्यहाँबाट फर्किएपछि संविधान संशोधन गरेर मात्रै अन्त जाँदा हुन्छ।”