सिरियामा लडाईंका घटनामा उल्लेखनीय कमी

  • 14 सेप्टेम्बर 2016
तस्वीर कपीराइट AP
Image caption चर्को युद्धले आक्रान्त सिरियामा पछिल्लो युद्धविरामले शान्तिको आशा पलाएको छ

सोमबारबाट घोषित अस्थायी युद्धविरामका कारण लडाईंका घटनामा उल्लेखनीय कमी देखिएको सिरियाका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत स्टाफान डे मिस्टुराले बताएका छन्।

तर हिंसात्मक घटनाहरु भए तिनले युद्धविरामको स्थिति जोखिममा पर्ने उनले चेतावनी दिएका छन्।

आगामी दिनमा युद्धविरामको वास्तविक परीक्षण हुने उनले बताए।

“अहिले त जम्मा २४ घण्टा भएको छ। ४८ घण्टा पछिको स्थिति महत्वपूर्ण हुनेछ किनकि युद्धविराम गराउने दुवै पक्षले त्यो समयसीमालाई परीक्षण गर्ने जनाएका छन्,” उनले भने।

त्यहाँ युद्धविराम लागु गराउन रुस र अमेरिकाले शुक्रबार सहमति गरेका थिए।

राहत प्राथमिकता

विद्रोही नियन्त्रणमा रहेको एलेप्पो शहरको पूर्वी भागमा राहत सामाग्री पुर्याउनु अहिलेको मुख्य प्राथमिकता रहेको उनले बताए।

तर सिरियाली विदेश मन्त्रालयले उसको सहमति विना कुनै राहत सामाग्रीको एलेप्पोमा ढुवानी हुन नदिने चेतावनी दिएको छ।

गोलाबारी नभएकाले त्यहाँ बालबालिकाले सडकमा खेलेका छन्।

सिरियामा देशका अधिकांश भागमा सोमबारदेखि भएको युद्धविराम लागु भएको देखिंदा राहत सहायता सामाग्री बोकेका ट्रकहरु आवश्यक स्थानहरुमा जान तयार भएर बसेका छन्।

त्यस्ता आपतकालीन सहायता सामाग्रीको ढुवानी बुधबारबाट शुरु हुने ठानिएको छ।

तर रुसले देशभर युद्धविराम उल्लंघनका २० भन्दा धेरै घटना विद्रोहीहरुद्वारा भएको भन्दै अमेरिकालाई उसले समर्थन गर्दै आएका विद्रोही समूहलाई नियन्त्रण गर्न भनेको छ।

बीबीसीका सम्वाददाता सेवास्टियन असर भन्छन् यी घटनाले गत फेब्रुअरीमा केही साता भएको युद्धविरामको स्मरण गराएका छन्।

त्यतिखेर शुरुवाती आशा पछि हिंसा देशभर फैलिएर निराशामा टुंगिएको थियो।

“त्यस्तै खालको परिस्थितिमा अहिले पनि खास परिवर्तन आएको छैन। तर रुस र अमेरिकाले वास्तवमा आफ्ना स्वार्थभन्दा साँचो अर्थमा सिरियाली जनताका निम्ति काम गर्नेछन् भन्ने विषयमा यसपालिको आशा केन्द्रित छ,” असरको विश्लेषण छ।