संविधान कार्यान्वयन गर्न मोदीको शुभेच्छा

  • 16 सेप्टेम्बर 2016
प्रचण्ड र मोदी तस्वीर कपीराइट .
Image caption दुवै प्रधानमन्त्रीले समयसीमा तोकेर विकास आयोजना कार्यान्वय गरिनेमा जोड दिएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले असन्तुष्ट पक्षसँगको सार्थक सम्वादका माध्यमबाट अघिल्लो वर्ष जारी भएको संविधानको सफल कार्यान्वयन गर्न प्रधानमन्त्री प्रचण्ड सफल हुने विश्वास व्यक्त गरेका छन्।

चार दिने राजकीय भ्रमणमा दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डसँगको भेटमा भारतीय प्रधानमन्त्रीले नेपालको संविधानप्रतिको आफ्नो पुरानै अवधारणा दोहोर्याए।

दुवै प्रधानमन्त्रीले विगतका सम्झौता र विकास परियोजनाहरुको कार्यान्वयनका लागि ठोस समयसीमा तोक्ने र नियमित अनुगमन गर्ने प्रतिबद्धता जनाएका छन्।

दिल्लीको ‘हैदरावाद हाउस’मा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डलसँगको छलफलपछि दुवै प्रधानमन्त्रीले संयुक्त सम्बोधन गरेका थिए।

‘सर्वस्वीकार्य’

आफ्नो सम्बोधनमा मोदीले नेपालको संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिए।

प्रधानमन्त्री प्रचण्डको प्रशंसा गर्दै मोदीले भने, “तपाईँले नेपालमा शान्ति स्थापनाका लागि नेतृत्वदायी भूमिका खेल्नुभएको थियो। म विश्वस्त छु तपाईँको सुझबुझपूर्ण नेतृत्वमा नेपालले समावेशी वार्तामार्फत विविधतायुक्त समाजका सबै पक्षका आकांक्षालाई सम्बोधन गर्दै सफलतापूर्वक संविधानको कार्यान्वयन गर्नेछ।”

प्रधानमन्त्री मोदीको उक्त भनाइबारे व्याख्या गर्दै एक पत्रकार सम्मेलनमा भारतीय विदेशसचिव एस जयशंकरले तराई केन्द्रित दलहरुले संविधानप्रति व्यक्त गरिरहेको असन्तुष्टि संविधान गरिनुपर्ने धारणा नबदलिएको बताएका छन्।

प्रधानमन्त्रीमा निर्वाचित भएको झण्डै डेढ महिनापछि पहिलो विदेश भ्रमणमा दिल्ली आएका प्रचण्डको भ्रमण समयानुकुल रहेको भन्दै मोदीले यसले दुई देशबीचको सम्बन्धमा, उनकै शब्दमा, “गौरवपूर्ण अध्याय” शुरु गर्ने विश्वास आफूले गरेको बताएका थिए।

विगतमा भएका सम्झौताको सुस्त कार्यान्वयनप्रति नेपाली पक्षले जनाएको चिन्ता सम्बोधन गर्ने प्रयास गर्दै मोदीले समयसीमा निर्धारण गरी नियमित अनुगमन गरेर जलविद्युत र विकाससम्बन्धी पूर्वाधारहरु अघि बढाइने उल्लेख गरे।

तस्वीर कपीराइट .
Image caption दुई देशका अधिकारीको दिल्ली भेटसँगै दुई देशबीचको सम्बन्धमा सुधार हुने अपेक्षा गरिएको छ।

आफू भन्दा पहिले बोलेका भारतीय प्रधानमन्त्री मोदीबाट प्रशंसा पाएपछि केही हौसिएका जस्तो सुनिएका प्रचण्डले भारतीय राष्ट्रपति निवासमा सम्मानसहित आफूलाई राखिनुले दुई देशबीचको नजिकको सम्बन्ध प्रतिविम्वित भएको बताए।

आफ्नो संवोधनको अन्त्यतिर उनले संविधानप्रति असन्तुष्ट पक्षलाई समेट्न आफ्नो सरकारले प्रयास गरिरहेको उल्लेख गरेका थिए।

‘उपलब्धि’

प्रचण्डले भने, “मैले प्रधानमन्त्री मोदीलाई अघिल्लो वर्ष लोकप्रिय जनमतद्वारा चुनिएको संविधानसभाबाट संविधान जारी हुनु नेपाली जनताका लागि ऐतिहासिक उपलब्धि भएको बताएँ र मेरो सरकारले संविधान कार्यान्वयनको चरणलाई अघि बढाउँदै सबै पक्षलाई सहमतिमा ल्याउन गम्भीर प्रयास गरिरहेको अवगत गराएँ।”

भारतीय प्रधानमन्त्री मोदीले जस्तै आफूले पनि छिमेकीहरुसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको भन्दै उनले असल छिमेकीका भावनाबाट एक, अर्काका संवेदनशीलतालाई ध्यान दिएर नेपाल र भारत अघि बढ्नुपर्ने उल्लेख गरेका थिए।

दुवै देशका अधिकारीहरुले भूकम्पपछिको पुनर्निर्माणमा भारतले उपलब्ध गराउने भनिएको ७५ करोड डलर ऋण सहितका दुई र हुलाकी राजमार्ग दोस्रो चरणको निर्माण सम्बन्धी अर्को एउटा समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

प्रधानमन्त्रीको हैसियतमा दोस्रो पटकको दिल्ली यात्रामा प्रचण्डले उच्चस्तरीय भेटवार्तामा कुनै विवादास्पद विषय अघि नसारी दिल्लीसँग विश्वासको सम्बन्ध कायम गर्ने प्रयास गरेको देखिएको छ।