दक्षिण सुडानबाट भाग्नेको संख्या १० लाख

  • 16 सेप्टेम्बर 2016
तस्वीर कपीराइट Reuters

संयुक्त राष्ट्र संघले दक्षिण सुडानको गृहयुद्धबाट भागेका मानिसको संख्या दश लाख नाघेको बताएको छ।

त्यस्तो आंकडामा, गत जुलाई महिनादेखि शुरु भएको ताजा भीडन्तपछि देशछाडेर भागेका १ लाख ८५ हजार मानिस पनि संलग्न छन्।

त्यहाँ सन् २०१३ को डिसेम्बर महिनामा गृहयुद्ध शुरु भएको थियो जुन, गत बर्ष एउटा युद्धविराम सम्झौता भएपछि पनि हालसम्म जारी छ।   राष्ट्र संघीय शरणार्थी निकाय युएनएचसीआरका प्रवक्ता लिओ डोब्सले जारी गरेका एक वक्त्व्यमा गत जुलाईमा भएको हिंसा दक्षिण सुडानमा शान्ति स्थापना गर्ने प्रयासमा ठूलो व्यवधान भएको बताइएको छ।

देश छाडेर भाग्नेहरुको संख्यामा उल्लेख्य वृद्धि त्यसबेला राजधानी जुबामा भएको भीडन्तपछि देखा परेको हो।

शान्ति सम्झौता

गत बर्ष हस्ताक्षर भएको कमजोर शान्ति सम्झौता भंग हुने संघारमा पुगिसकेको छ।

तस्वीर कपीराइट

बीबीसीका अफ्रीका सम्पादक जेम्स कोप्नल भन्छन्, पीडाको इतिहास बोकेको दक्षिण सुडानको गृहयुद्धमा दु:खका कथाहरु भने नयां छन्।

गत जुलाई महिनामा नयाँ भीडन्त शुरु भएयता कम्तीमा १ लाख ८५ हजार मानिसहरुले देश छाडेर भाग्नु परेको छ।

पछिल्ला पीडीतहरु युगान्डातर्फ गएका छन् तर दक्षिण सुडानका सबैजसो छिमेकीहरुले नै गृहयुद्ध शुरु भएयता आफूहरुकहां शरणार्थीहरुलाई शरण दिएका छन्।

देश छाडेर भागेकाहरु भनि संयुक्त राष्ट संघले १० लाखको आंकडा प्रस्तुत गरेको भएतापनि दक्षिण सुडानमा देशभित्रै आन्तरिक रुपमा विस्थापित भएकाहरुको संख्याको दांजोमा त्यो संख्या कम हो।

विस्फोट

आन्तरिक रुपमा विस्थापितहरुको संख्या १६ लाख पुगेको छ। हिसाब गर्ने हो भने पांचजनामा एकजना दक्षिण सुडानका बासिन्दा युद्धबाट भाग्न बाध्य भएका छन्।

राष्ट्रपति साल्भा किइर र भूतपूर्व उपराष्ट्रपति रिएक मचारबीचको चरम मतभेदका कारण उत्पन्न विषम परिस्थिती सन् २०१३ को डिसेम्बरमा गृहयुद्ध बनेर विस्फोट भएको थियो।

चर्को अन्तर्राष्ट्रिय दबाबमा दुवै पक्षबीच सन् २०१५ को अगस्टमा शान्ति सम्झौता भएको थियो।

एप्रील महिनामा गठन भएको राष्ट्रिय एकताको सरकारमा सहभागी हुन रिएक मचार उपराष्ट्रपतिका रुपमा राजधानी जुबा फर्केका थिए।

तर तीन महिनापछि नै उनका अंगरक्षक र राष्ट्रपतिय सुरक्षाकर्मीबीच झगडा भएपछि उनी राजधानी छाडेर भागेका थिए।

उनको स्थानमा उनकै पार्टीका अर्का सदस्यलाई उपराष्ट्रपति नियुक्त गरिएको छ जस्लाई मचारले मान्यता दिएका छैनन्।