सुनसरीमा डुंगा पल्टियो, ३६ जनाको उद्धार

  • 17 सेप्टेम्बर 2016

सुनसरीको प्रकाशपुर नजिकै कोशी नदीमा एउटा डुंगा पल्टिंदा ९ जना यात्रुहरु हराइरहेको प्रहरी अधिकारीले बताएका छन्।

जिल्लाको श्रीलंका टापु भन्ने ठाउँबाट गइरहेको डुंगा मानिसहरुको भार बढी भएर पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ।

सुनसरीस्थित नेपाल प्रहरीका उपरीक्षक पोषराज पोखरेलले उक्त डुंगामा सवार ४५ जना यात्रुमध्ये ३६ जनाको उद्धार भइसकेको जानकारी दिए।

बाँकी ९ जनाको खोजी कार्य जारी राखेको सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंले बीबीसीलाई बताए।

शनिबार लाग्ने हाट बजार जानका लागि क्षमताभन्दा बढी यात्रु डुंगामा चढेको बताइएको छ।