निजी विद्यालयको सुरक्षा गर्न सरकारमाथि दबाब

  • 20 सेप्टेम्बर 2016
विद्यार्थी तस्वीर कपीराइट epa
Image caption विभिन्न राजनीतिक संगठन र समूहका क्रियाकलापका कारण नेपालमा पठनपाठन प्रभावित हुने गरेको छ।

निजी विद्यालयहरुमा सरकारले शान्ति सुरक्षाको व्यवस्था मिलाउन नसके आफ्ना विद्यालहरुको ताल्चा-साँचो सरकारलाई बुझाइदिने विद्यालय सञ्चालकहरुले बताएका छन्।

विद्यालय सञ्चालकहरुले मंगलबार बिहानै १० वटा निजी विद्यालयहरुमा विस्फोटक पदार्थ राखिएकोमा दुई विद्यालय हातानजिकै सामान्य विस्फोट भएको जनाएका छन्।

तर कसैलाई पनि चोटपटक नलागेको बताइएको छ।

गृह मन्त्रालयले विद्यालयमा विस्फोटक पदार्थ राख्ने कार्यमा संलग्न व्यक्तिहरुमाथि कडा कारवाही गरी शान्ति सुरक्षाको व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ।

निजी तथा आवासीय विद्यालयहरुको एक छाता संगठन, प्याब्सन, का अध्यक्ष लक्ष्यबहादुर केसीले काठमाण्डूका ९ र ललितपुरको १ निजी विद्यालयमा विस्फोटक पदार्थ राखिएको पाइएकोमा काठमाण्डूका दुई विद्यालयमा सामान्य विष्फोटन भएको बताए।

'शान्ति क्षेत्र'

प्रहरीका अनुसार जोरपाटीस्थित आकाशदीप माध्यामिक विद्यालय र मनकामना उच्च माध्यामिक विद्यालयमा विस्फोटक पदार्थ पड्किएपनि कुनै मानवीय क्षति हुन पाएन।

शान्ति क्षेत्र भनिएको विद्यालयहरुमा विस्फोटक पदार्थ भेटिएसंगै निजी विद्यालय सञ्चालक, अभिभावक तथा कलिला विद्यार्थीहरुमाझ फैलिएको त्रास हटाउन सरकारले तत्काल ठोस कदम चाल्नु पर्नेमा निजी विद्यालय सञ्चालकहरु एकमत रहेको प्याब्सनका अध्यक्ष केसीले बताए।

“सरकारले रमिता मात्र हेरेर बस्ने हो कि शान्ति सुरक्षा पनि दिने? सरकारले शान्ति सुरक्षा दिन सक्दैन भने हामी सबै मिलेर साँचो-ताल्चा बुझाइदिन्छौं।”

प्रहरीका अनुसार घटनास्थल नजिकैबाट यसअघि नाम नसुनिएका संगठनहरुको पर्चा फेला परेका थिए।

दुई विद्यालयमा विस्फोट भएपनि अन्य विद्यालयहरुका विष्फोटक पदार्थ निष्कृय पार्न बिहानैदेखि नेपाली सेनाका टोली खटाइएका थिए।

पक्राउ

विष्फोटक पदार्थ राख्ने कार्यमा संलग्न भएको आशंकामा दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले दोषीलाई पहिचान गरी कडा कारवाही गर्न निर्देशन दिएको बताए।

मंगलबार निजी विद्यालयमा विस्फोटक पदार्थ राख्न जिम्मेवार भनिएको संगठन केही समयअघि काठमाण्डूको डल्लुमा एक निजी विद्यालयको बसमा आगजनी गर्ने कार्यमा संलग्न भएको हुनसक्ने प्याब्सनको भनाइ छ।

निजी विद्यालयमा विस्फोटक पदार्थ राख्ने कार्यको विभिन्न क्षेत्रबाट भर्त्सना गरिएको छ।

त्यो सूचीमा माओवादी केन्द्र निकट अखिल नेपाल विद्यार्थी संगठन क्रान्तिकारी पनि मिसिएको छ।