राष्ट्रसंघको महासभामा सिरियाको आलोचना

  • 20 सेप्टेम्बर 2016
तस्वीर कपीराइट Reuters

संयुक्त राष्ट्र संघका महासचिवले, राष्ट्र संघीय महासभाको उद्घाटनका क्रममा बोल्दै, आफ्नै जनताको ज्यान लिएको भनि सिरियाली सरकारको आलोचना गरेका छन्।

उनले सिरियामा भीडन्त अन्त्य गर्न पनि आह्वान गरे।

मानवीय सहायता सामग्रीहरु बोकेको सवारी जत्थामा हवाइ हमला गरिएपछि सिरियामा सबै राहत अभियानहरु स्थगित गरिएका छन्।   संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै महासचिव बान की मून ले भने, "सिरियामा पांच वर्षदेखि जारी गृहयुद्धका क्रममा भएका धेरै जसो गैरसैनिकहरुको मृत्युका लागि सिरियाली सरकार जिम्मेवार छ।"

तर उनले सिरियाली सरकार र विद्रोही दुवै थरीका समर्थकहरुको पनि आलोचना गर्दै तउनीहरुले, उनकै शब्दमा, त्यहां युद्धको यन्त्रलाई चलायमान राख्‍न मद्दत पुर्याएको बताए।

उनले आफ्नो भाषण सुनिरहेका केहि उपस्थित स्रोताको हात 'रगतले लतपतिएको' भन्दै सिरियामा लडाईं अन्त्य गर्न आह्वान पनि गरे।

स्थगित

तस्वीर कपीराइट AFP

यसैबीच सोमबार अलेप्पो शहर नजीकै एउटा मानवीय सहायता सामग्रीहरु बोकेको सवारी जत्थामा हवाइ हमला गरिएपछि संयुक्त राष्ट्र संघले सिरियामा आफ्ना सबै राहत सहायता वितरण अभियानहरु स्थगित गरेको छ। उक्त हमलामा राहत सामग्रीहरु बोकेका ३१ वटा लरी मध्ये १८ वटा नष्ट भएका थिए।

सहायता अधिकारीहरुका अनुसार उक्त हमलामा मारिएका २० जना गैरसैनिकहरुमा सिरियाली अरब रेड क्रेसन्टका एकजना वरिष्ठ स्थानीय अधिकारी पनि थिए।

सिरिया र रुस दुबैले उक्त हमलामा आफ्ना सैन्यहरु संलग्न नरहेकोमा जोड दिएका छन्।

एकजना राष्ट्रसंघीय प्रवक्ताले भने, "ती सवारी साधनहरुले त्यस क्षेत्रमा युद्धरत सबै पक्षहरुबाट आवश्यक अनुमति प्राप्त गरेका थिए र तिनका बारेमा रुस र अमेरिकालाई समेत अवगत गराइएको थियो।"

अनुमति

तस्वीर कपीराइट AFP

जिनीभामा रहेकी बीबीसी सम्बाददाता इमोजेन फूक्स भन्छिन्, ती राहत सामग्रीहरु ढुवानी गरिरहेका लरीहरुले अनुमति पत्र पाएको, सबै युद्धरत पक्षहरुलाई जानकारी गराइएको र अलेप्पोमा अन्तत: राहत पठाउन पाइएको भन्दै एकदिन अघि मात्रै जिनीभामा रहेका राहत कार्यकर्ताहरुले खुशी मनाएका थिए।

ती लरीहरुले उरुम अल कुब्रा नगरमा रहेका अठहत्तर हजार मानिसहरुका लागि अत्यावश्यक राहत सामग्रीहरु बोकेका थिए, तर मंगलबार बिहानै त्यहांको आशावादी वातावरणले अर्कै स्वरुप लिन पुग्यो।