तेल पाइपलाइनको विस्तृत सर्वेक्षण पूरा

  • 21 सेप्टेम्बर 2016
oil pipeline तस्वीर कपीराइट AFP
Image caption यस्तो पाइपलाइन विछ्याएपछि नेपाल आयल निगमको ठूलो रकम बचत हुने र तेलको मूल्य समेत घट्ने अपेक्षा गरिएको छ

नेपाल र भारतबिच सम्झौता भएको १३ महिनापछि रक्सौल-अमलेखगंज पेट्रोलियम पाइपलाइनको कामले गति लिन लागेको अधिकारीहरुले बताएका छन्।

पाइपलाइन निर्माणका लागि विस्तृत ‘इन्जिनियरिङ्’ सर्वेक्षण सकिएको र अब बोलपत्र आह्वानको तयारी थालिएको बताइएको छ।

बुधबार नेपाल र भारतका आयल निगमका अधिकारीबिच हुने वार्तामा निर्माणको पूर्ण योजना तय हुने बताइएको छ।

अपेक्षा

हाल भारतका विभिन्न डिपोबाट ट्याङकर मार्फत पेट्रोलियम पदार्थ ढुवानी गरेर ल्याउने झन्झटिलो प्रक्रियाको अन्त्य गर्ने भन्दै गत वर्षको अगस्टमा नेपाल र भारतबिच पाइपलाइनमार्फत नेपालमा पेट्रोलियम पदार्थ ल्याउने सम्झौता भएको थियो।

भारतले दुई अर्ब र नेपालले ७५ करोड भारतीय रुपैयाँ लगानी गरेर निर्माण गर्ने भनिएको रक्सौल-अमलेखगंज पेट्रोलियम पाइपलाइन संविधान जारी भएलगत्तै दुई देशबिचको सम्बन्धमा देखिएको दूरीका कारण अन्यौलमा परेको जस्तो देखिएको थियो।

त्यो काम अब अगाडी बढेको उल्लेख गर्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खडकाले भने, "विस्तृत इन्जिनियरिङ सर्वेक्षण सकिएको छ। यो करिब अब बोलपत्र आह्वान गर्ने प्रकियामा पुगेको छ, बोलपत्र प्रकिया सकिने बेला सम्ममा हामीले जग्गा लगायतका सुविधा उपलब्ध गराइसक्नु पर्छ।"

केही दिन पहिले भारतीय आयल निगमका अधिकारीहरुले पाइपलाइन निर्माण क्षेत्रको अध्ययन गरेर फर्किएको बताइएको छ।

अध्ययन

उनीहरुको अध्ययनबाट आएका विषय र पाइपलाइन निर्माणका लागि नेपालका तर्फबाट मुआब्जा लगायतका काममा भएको प्रगतिबारे बुधबार भारतमा हुने दुई पक्षीय बैठकमा छलफल हुने कार्यकारी निर्देशक खड्काले बताए।

उनले भने,"भारतीय आयल निगमलाई पाइपलाइन निर्माणका लागि पहिलो चरणमा चाहिने ठाउँको निर्धारण गर्छौं। जग्गाको समेत समस्या नरहेको क्षेत्रबाट काम सुरु गर्ने गरी आज(बुधबार) योजना बनाउँछौं।"

पाइपलाइनको निर्माणसंगै अमलेखगञ्जमा रहेको भण्डारको क्षमता वृद्धिको काम पनि अगाडि बढाउने योजनामा निगम रहेको बताइएको छ।

४१ किलोमिटर लामो हुने उक्त पाइपलाइन निर्माणपछि नेपाल आयल निगमको मासिक साढे तीन करोड रुपैँया बराबरको रकम बच्ने र त्यसले पेट्रोलियम पदार्थको बजार मूल्य घटाउन सघाउने ठानिएको छ।