mankari doctor sanduk ruit
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

मनकारी डाक्टर: डा. सन्दुक रुईत

  • 23 सेप्टेम्बर 2016

मनकारी डाक्टर श्रृंखलामा यसपटक आँखा रोग विशेषज्ञ डा. सन्दुक रुईतसँग कुराकानी गर्दैछौं। डा. सन्दुक रुईतको नेतृत्वमा विकास भएको आँखा उपचार पद्धति संसारमै नेपाल मोडल भनेर अपनाइन्छ। आँखामा मोतिबिन्दु लागेकाहरुका लागि आवश्यक लेन्स नेपालमा उनकै नेतृत्वमा खोलिएको तिलगंगा आँखा अस्पतालले उत्पादन गरेर सस्तोमा उपलब्ध गराएर उनले आँखा उपचारमा लाखौंको पहुँच बनाइदिएका छन्। सुनौं अन्तर्राष्ट्रिय पुरस्कार र ख्याती पाइसकेका डा. रुइतसँग रमा पराजुलीले गरेको कुराकानी।

कहाँ जन्मिनुभो, कहाँ हुर्किनुभो?

ताप्लेजुङ जिल्लाको बहुत विकट गाउँ ओलाङचुङगोलामा कञ्चनजंघाको फेदिमा म जन्मेँ। करिब सात आठ वर्षको हुन्जेल त्यहाँ बसेँ। त्यसपछि अध्ययनको लागि मेरो बुवाले मलाई दार्जिलिङ पठाउनुभयो।

डाक्टर बन्ने प्रेरणा कताबाट मिल्यो?

दार्जिलिङमा त्यतिबेला चीन र भारतको युद्ध शुरु भएपछि बुवाले हामीलाई काठमाण्डू ल्याउनुभयो। म र मेरी बहिनी काठमाण्डूमा पढ्न थाल्यौं। हामी आत्मीय तरिकाले नजिक थियौं। बहिनी महेन्द्रभवन विद्यालयमा र म सिद्धार्थ बनस्थलीमा पढ्थ्यौं। म किनमेल गर्थेँ, बहिनीले मलाई खाना खुवाउँथिन्। यहि दौरानमा बहिनीलाई क्षयरोग लाग्यो। हामीले सकेजति औषधि उपचार त गर्यौं। तर एक डेढ वर्षमा बहिनीलाई टीबीले खायो। यो सम्पूर्ण क्रमको मसँग तितो स्मरण छ। यसरी बहिनी बितेपछि मेरै बहिनीजस्ता धेरै विरामी मेरो देशमा छन् होला र दैवले मलाई यही कुरा नै गर भन्दैछ कि भनेर म मेडिसिनतर्फ ढल्किएँ। मनमा त्यतिबेला बलियो प्रतिबद्धता आयो।

आँखाको डाक्टर किन बन्नुभयो?

डाक्टर बनिसकेपछि त्यतिबेला म भन्दा अग्रणी डा. रामप्रसाद पोखरेल, डा. नविनचन्द्र राई डा मदनप्रसाद उपाध्याय- उहाँहरु सबैमा देशका लागि केही गरौं भन्ने भावना पाएँ। त्यसपछि डा. नविन राईसँग शिविरहरुमा पनि गएँ। एकपटक धनगढीमा हामी गएका थियौं। उहाँले अलिअलि सर्जरी हामीलाई गराउनुपनि हुन्थ्यो। एउटा परिवारमा सात जना मान्छेलाई मोतिबिन्दु भएको थियो। ती सबैको एकै दिनमा शल्यक्रिया भयो र उनीहरु घर गए। मलाई खुब राम्रो लाग्यो। त्यसपछि मेरो मन र तन त्यतैतिर ढालेँ। मलाई अग्रजहरुले गाइड गरेर लग्नुभयो।

तीलगंगा आँखा अस्पताल किन खोल्नुभयो?

मोतिबिन्दुको शल्यक्रियालाई आधुनिक स्तरमा लग्न र समुदायमा त्यसलाई पुर्याउनको लागि अलग्गै पहिचान भएको छुट्टै इकाईको जरुरत मैले देखेँ। त्यसबेलासम्ममा आँखा अस्पतालमा बसेर मोतिबिन्दुको अपरेशन गाउँ गाउँमा गएर यसरी गर्ने भन्ने रुप तय गरिसकेका थियौं। अर्को कुरा यसलाई संभव बनाउन इन्ट्रा अक्युलर लेन्स सुलभ रुपमा हामीलाई चाहिएको थियो। नेपाल जस्तो ठाउँमा सुलभ रुपमा इन्ट्रा अक्युलर लेन्स पाउने एउटा मात्र उपाय हामीले आफै बनाउनु हुन्थ्यो। इन्ट्रा अक्युलर लेन्स भनेको के हो?

जतिबेला हामीले तीलगंगा शुरु गर्यौं, प्राय सबै मोतिबिन्दुको अपरेशनमा आँखाभित्र लेन्स नराखिकन आँखा अपरेशन भइसकेपछि ठूलो बाक्लो चस्मा दिएर पठाउने चलन थियो। हाम्रो जस्तो देशमा जहाँ उकालो ओरालो हिँड्नुपर्छ दैनिक जीवनक लागि पनि दृष्टि एकदम राम्रो चाहिन्छ। मोतिबिन्दु अपरेशनको बेलामा इन्ट्रा अक्युलर लेन्स राखेर मोटो चश्मा लगाउन नपर्ने बनाउन सकिन्छ।

त्यो तपाईँले अष्ट्रेलियामा पढ्दाखेरिका अष्ट्रेलियाली गुरु फ्रेड होलोजसँग सिक्नुभएको हो?

फ्रेड होलोज र मैले सँगसँगै त्यसो गर्नुपर्छ भनेर वकालत गरेका हौं। यो प्रविधि उहाँ बित्नुभएपछि विकसित भएको हो। यो प्रविधिलाई फ्रेड होलोज फाउण्डेशनले संसारभरि फैलाइदियो। तर यो प्रविधि नेपालमा विकास भएको प्रविधि हो।

इन्ट्रा अक्युलर लेन्स अहिले तिलगंगामा बन्छ?

तिलगंगाका हाम्रा कर्मचारीहरु यति सक्षम छन् त्यो बनाउनलाई। संसारको विशिष्ट गुणस्तरको जस्तै हामी यहाँ बनाउन सक्षम छौं।

त्यो बाहिर त महँगो पर्छ नेपालमा कति मूल्य पर्छ?

अहिले नेपालमा दुईसय रुपैयाँ भन्दा कममा उपलब्ध गराउँछौं। यसले आधुनिक गुणस्तरीय शल्यक्रियाको पहुँच केही हजारबाट लाखौं हजारमा पुर्यायो। संसारभरी पहुँच पुर्यायो।

इन्ट्रा अक्युलर लेन्स नेपालमा बनाएपछि उपचारमा विपन्न वर्गको पहुँच पुग्यो भन्न खोज्नुभएको हो?

मैले भन्न खोजेकै त्यही हो। सन २००० सालतिर दक्षिण एशियाली क्षेत्रमा नेपालमा ८० देखि ९० प्रतिशतले इन्ट्रा अक्युलर लेन्स पाउँथे, भारतमा ७० प्रतिशतले मात्र र बांग्लादेश पाकिस्तानमा ५० प्रतिशतले मात्र इन्ट्रा अक्युलर लेन्स पाउँथे। त्यो दुई कुराले संभव भएको हो। एउटा यसको शल्यक्रियाको विधि सरलीकरण गरेर समुदायमा पुर्याइयो। अर्को इन्ट्रा अक्युलर लेन्सलाई हामीले नेपालमा उत्पादन गरेर सुलभ बनाइयो। यो आधुनिक शल्यक्रिया जसको परिणाम असाध्यै राम्रो छ, र यो प्रक्रियालाई दुर दराजमा पुर्याउँदा जुन प्रणाली विकास गर्यौं त्यो प्रणालीलाई अहिले संसारले एउटा अग्रगामी प्रणाली मानेको छ। र यो प्रणालीलाई एशियामा अफ्रिकामा दक्षिण अमेरिकामा नेपाली प्रविधि भनेर प्रचलनमा छ। मलाई यो भन्न पाउँदा धेरै गर्व लाग्छ।

नेपालको कति टाढा टाढासम्म पुगेर मोतिबिन्दुको शल्यक्रिया गर्नुभएको छ तपाईँहरुले?

म र मेरा साथीहरुले जति शल्यक्रिया तिलगंगामा गर्छौं, त्यति नै अस्पताल बाहिर गर्छौं। मधेशमा अलि धेरै नम्बरमा हुन्छ पहाड र हिमालमा अलि थोरै नम्बरमा हुन्छ बाटो घाटो र पहुँचका कारण।

त्यो बाहेक तिलगंगा आँखा अस्पतालमा संसारका थुप्रै ठाउँका मान्छेहरुलाई ज्ञान र प्रविधि हस्तान्तरण गर्नुभएको छ। कहाँ कहाँबाट मान्छे आउँछन् कस्तो ज्ञान हस्तान्तरण गर्नुहुन्छ?

हाम्रो नेपाली प्रणालीको मोतिबिन्दुको शल्यक्रियालाई स्मल इनसिजन क्याटर्याक्ट सर्जरी भनिन्छ। त्यो सिक्न हामीकहाँ आउँछन्। आँखाको नानीको, आँखाको पर्दाको, जलबिन्दुको, आँखाको प्लाष्टिकको, बच्चाको आँखाको यी सबै कुरामा एक वर्षको फेलोशीप हामी दिन्छौं। अहिलेसम्म तीस, चालीसवटा देशका हजार जति मानिसहरु हामीकहाँ आएर जानुभइसक्यो। जहिले पनि ६-७ जना भैराख्या हुन्छ यहाँ।

नेपाल बाहेक भारत उत्तर कोरिया चीनमा पनि आँखा शिविर गर्न जानुहुन्छ, त्यो किन?

यो प्रणाली विकसित गरिसकेपछि कताकता मनमा के लाग्यो भने नेपाल जस्तो ठाउँ जहाँ यति अफ्ठ्यारो छ संघर्षै संघर्ष छ यो दुनियामा। भित्रदेखि बाहिरसम्म संघर्ष छ। बत्ति नआउनेदेखि राजनीतिक अस्थीरता छ। यस्तो ठाउँमा हामीले असाध्यै कम पैसा तिर्न सक्ने क्षमता भएको ठाउँमा हामीले सरकारको सहायताबिना हामीले दीगो बनाउन सक्छौं यस्तो प्रणाली। मलाई के लाग्यो भने संसारको कुनै पनि कुनामा यो प्रणालीले सफलता पाउँछ। हामीले सोचेको जस्तै यो प्रणालीलाई फरक फरक ठाउँमा लिएर जाँदाखेरि बहुत लोकप्रिय भयो। इन्डोनेशिया म्यानमार थाइल्याण्डको दुर दराजमा निकारागुवामा क्याम्बोडियामा बांग्लादेशमा चीनमा भारतमा भुटानमा। म बहुत गर्वका साथ भन्न चाहन्छु कि शायद उनीहरुले आँखाको चिकित्सा क्षेत्रलाई बहुत सम्मानसाथ हेर्ने गर्छन्।

दश वर्ष अगाडि तपाईले यो क्षेत्रको प्रसिद्ध अन्तराष्ट्रिय पुरस्कार म्यागसेसे पुरस्कार पाउनुभयो। त्यो हात पर्दा कस्तो लाग्यो?

यस्तो कुराहरु पाउँदा राम्रो लाग्छ। यसले अझ श्रोत जम्मा पार्न मलाई विश्वास दिन्छ। पाइसकेपछि अलिकति मेरो क्षेत्र नेपालबाट अन्तर्राष्ट्रिय भएको महशुस गरेँ मैले।

अहिले भर्खरै पनि एउटा पुरस्कार एशिया गेम चेन्जर्स अवार्ड घोषणा भएको छ। न्यू योर्कस्थित एशिया सोसाइटीले दिँदैछ त्यो पुरस्कार। त्यो लिन छ हप्तापछि तपाँई त्यहाँ जाँदै हुनुहुन्छ। थुप्रै अन्तराष्ट्रिय पत्रपत्रिकामा पनि तपाइका सफलताका कथाहरु प्रशंसाहरु छापिएका छन्। आफैले आफ्नो कामको समीक्षा गर्दा कस्तो महशुस हुन्छ?

कहिलेकाहिँ फर्केर हेर्दाखेरि मलाई कसरी आइएछ जस्तो लाग्छ। यो पच्चीस-तीस वर्ष हेर्दा हामीले साह्रै मेहनत गर्या छौं। यतिबेला मसँग एकदम मिलेर काम गर्ने तीनचार जना जो बिना यो काम सफल हुँदैन उनीहरुको नाम लिन चाहन्छु। तिलगंगाको अध्यक्ष हुनुहुन्छ सुरिद घिमिरे, प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ र तिलगंगाका मेरा सम्पूर्ण साथीहरु। मसँग काम गर्ने यी हातहरु नभएको भए म यो ठाउँमा पुग्दैनथेँ। म त अग्रमोर्चा भएका कारण यो सबै पाएँ होला। फर्केर हेर्दा कहिलेकाहिँ अलि अचम्म पनि लाग्छ। मेरो लागि मेरो परिवारको लागि र सबभन्दा ठूलो कुरा ‍मेरो देशको लागि राम्रो हो जस्तो लाग्छ।