रुसमाथि युद्ध अपराध गरेको आरोप

  • 25 सेप्टेम्बर 2016
तस्वीर कपीराइट Reuters

ब्रिटेनका विदेशमन्त्री बोरिस जोनसनले भनेका छन्, यदि रुसले अलेप्पो नजिकै सहायता सामाग्री लिएका गाडीहरुमाथि हमला गरेको हो भने रुसले युद्ध अपराध गरेको हुन सक्छ।

रुसले जानाजान सर्वसाधारणलाई निशाना बनाएको हो कि होइन त्यो सोध्नु ठिक भएको उनले बीबीसीलाई बताए।

गत सोमबार भएको आक्रमणमा १८ वटा लरी ध्वस्त भएका थिए र २० जना मारिएका थिए।

रुसले विद्रोहीको बम वा अमेरिकाका स्वचालित हतियारहरु आक्रमणका लागि जिम्मेवार रहेको भन्दै आक्रमणको जिम्मा लिन अस्वीकार गरेको छ।

'रुस दोषी'

जोनसनले उक्त युद्ध लम्ब्यउने र त्यसलाई अझ घिनलाग्दो बनाउने काम गरेर रुस दोषी भएको पनि टिप्पणी गरे।

अलेप्पोमाथि भारी बम हमला भईरहेको समयमा उनको उक्त टिप्पणी आएको हो।

सिरियाली सरकारले विद्रोही नियन्त्रित क्षेत्र फेरि कब्जा गर्नका आक्रमण गरेको बताएको छ।

पछिल्लो भिडन्तमा विद्रोही लडाकूले प्यालेस्टिनी शरणार्थी शिविर रहेको हण्डारत क्षेत्र फेरि कब्जा गरेको बताईएको छ।

रणनीतिक रुपमा महत्वपूर्ण उक्त क्षेत्र शनिबार सरकारी सेनाको कब्जामा थियो।

वार्ता चाँडै

तस्वीर कपीराइट Reuters

अलेप्पोका बारेमा वार्ता गर्न आइतबार न्युयोर्कमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक बस्ने अपेक्षा गरिएको छ।

अमेरिका ब्रिटेन तथा फ्रान्सले उक्त बैठक बस्नुपर्ने आह्वान गरेका थिए।

संयुक्त राष्ट्रसंघका विशेष दूत स्टफान ड मिस्तुराले गत हप्ता भएको सहायता सामाग्री लिएका गाडीमाथिको आक्रमणलाई विभत्स भनेका छन्।

आक्रमणमा दुईवटा रुसी लडाकू विमान संलग्न भएको अमेरिकाले बताएको छ।

जोनसनले त्यो भन्दा पनि अघि बढ्दै ती गाडीहरुलाई जानाजान निशाना बनाईएको टिप्पणी गरे।

हमला जारी

आक्रमणपछि राष्ट्रसंघले केही समयका लागि सिरियामा सहायता सामग्री पठाउन स्थगित गरेको थियो।

वाशिङ्नगटन र मस्कोको नेतृत्वमा लागू गरिएको युद्धविराम भंग भएपछि विद्रोही नियन्त्रित क्षेत्रमाथि सरकारी सेनाले हप्ताभर हवाई हमला जारी राखेको छ।

राष्ट्रसंघका प्रमुख बान की मुन अलेप्पोमा बढ्दो भिडन्तबाट स्तब्ध भएको उनका प्रवक्ताले शनिबार बताएका थिए।

सिरियामा ५ वर्षदेखि जारी गृहयुद्धमा उत्तरी शहर अलेप्पो भिडन्तको एउटा मुख्य केन्द्र बनेको छ।

आरोप-प्रत्यारोप

उक्त शहरमाथि भईरहेको आक्रमणका कारण झण्डै २० लाख मानिस पानीबाट वञ्चित भएको राष्ट्रसंघले बताएको छ।

ब्रिटेनस्थित पर्यवेक्षक समूह सिरिरयन अब्जर्भेटरी फर ह्युमन राईट्सले शनिबार भएको आक्रमणमा परेर २५ जना मारिएको बताएको छ।

सिरिया र रुसका लडाकू विमानहरु आक्रमणमा संलग्न भएको अभियानकर्ताहरु बताउँछन् तर रुसले आफ्नो संलग्नता पुष्टि गरेको छैन।

रुसले सिरियाली सरकारलाई र अमेरिकाले विपक्षी समूहहरुलाई समर्थन गरेका छन्।

दुई शक्ति राष्ट्रले एक अर्कामाथि आफ्नो समर्थकहरुमाथि नियन्त्रण कायम गर्न नसकेको आरोप लगाउने गर्दछन्।