संविधान संशोधन तिहारसम्ममा: प्रधानमन्त्री

  • 27 सेप्टेम्बर 2016
तस्वीर कपीराइट AFP
Image caption मधेशी मोर्चाको आन्दोलनका माझ दुई तिहाईभन्दा धेरै सभासदको समर्थनमा संविधान जारी भएको थियो

प्रधानमन्त्री प्रचण्डले प्रदेश सिमाङ्कनको हेरफेर लगायतका विषयमा संविधान संशोधन गर्ने प्रस्ताव तिहारसम्ममा संसदमा दर्ता गराउने आश्वासन दिएका छन्।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँगको बैठकमा उनले 'सकेसम्म दशैं नत्र तिहारसम्ममा संशोधन प्रस्ताव दर्ता गर्ने' वचन दिएका हुन्।

मोर्चाका नेता प्रधानमन्त्रीको आश्वासनपछि ‘पर्ख र हेर’ को मनस्थितिमा पुगेका छन्।

मोर्चाका नेताहरुले आफ्नै सहयोगमा बनेका प्रधानमन्त्री प्रचण्ड समक्ष सरकारको कामप्रतिको असन्तुष्टि र आशंका राखेका थिए।

चित्त प्रसन्न

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाललाई उद्धृत गर्दै प्रचण्डको निजी सचिवालयले ‘बैठक अत्यन्तै सौहार्द रहेको’ जनाएको छ।

त्यसको अर्थ मोर्चाका नेताको चित्त प्रसन्न भएकै हो?

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले हाँस्दै भने, "चित्त प्रसन्न त के हुनु, यस्ता वचनबद्धता त धेरै पटक भइसक्यो। तै पनि कुरा अलि राम्रै भयो, काम पनि राम्रो हुनु पर्यो, हेरौं‍।"

कतिपयलाई उग्र लाग्ने अभिव्यक्ति दिने महतो समेतलाई 'राम्रो' लाग्ने गरी प्रधानमन्त्री प्रचण्डले त्यस्तो के कुरा भने?

महतोले सुनाए, "प्रधामन्त्रीले संविधान संशोधनको प्रस्ताव दर्ता र मुद्दा फिर्ता दशैं-तिहारसम्ममा गर्ने भन्नुभयो। हामीले पनि पर्खाईको सीमा अनिश्चित हुन नसक्ने बतायौं।"

धम्की

माग पुरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने चेतावनी समेत आफूहरुले दिएको उनले बताए।

संविधान संशोधनका निम्ति संसदमा दुई तिहाई पुग्न सरकारलाई नेकपा एमाले सहित केही साना दलको साथ अनिवार्य चाहिन्छ।

तर आफूहरुसँग सहमति गरेर सरकारले प्रस्ताव ल्याउनु पर्ने बताउँदै महतो भन्छन्, "परित हुँदैन, फलानाले गर्दैन भन्ने बहानामा प्रस्ताव नै नल्याउनु ठग्ने काम हो, जसले पारित गर्दैन, उसविरुद्ध आन्दोलन हुन्छ, त्यसले जनतालाई जवाफ दिनुपर्छ, जनताले त्यसको समीक्षा र मूल्याङ्कन गर्छन्, भन्यौं।"

मोर्चाको पछिल्लो भनाईबाट संशोधन प्रस्ताव पारित नै गराउने बाध्यताको बोझ प्रधानमन्त्रीको काँधमा नरहेको देखिन्छ।

तर प्रदेश सिमाङ्कन हेरफेर र मुद्दा फिर्ता लगायतका विषयमा सत्ताधारी दुई प्रमुख दलभित्रैबाट गम्भीर मतभिन्नता प्रकट भइरहेका छन्।