‘एमएच-१७ उडान खसाल्न रुसी उपकरण’

  • 28 सेप्टेम्बर 2016
अनु्सन्धानकर्ता तस्वीर कपीराइट AFP
Image caption क्षेप्यास्त्र प्रहार गर्ने उपकरण रुसबाटै ल्याइएको र पछि फिर्ता लगिएको बताइएको छ।

दुई वर्षअघि मलेसियाली वायुसेवाको एमएच-१७ उडानलाई पूर्वी युक्रेनको आकाशबाट खसालिएको घटनाको छानबिन गर्न गठित अन्तर्राष्ट्रिय अभियोजनकर्ताहरुको एक टोलीले सो उडानलाई रुस समर्थित विद्रोही नियन्त्रित क्षेत्रबाट क्षेप्यास्त्र प्रहार गरिएको निष्कर्ष निकालेको छ।

उनीहरुका अनुसार सो क्षेप्यास्त्र प्रहार गर्ने उपकरण रुसबाटै ल्याइएको र पछि फिर्ता लगिएको थियो।

रुसले चाहिँ छानबिनको निष्कर्ष राजनीतिक भएको प्रतिक्रिया दिएको छ।

पूर्वी युक्रेनमाथि उडिरहेको मलेसियाली वायुसेवाको एमएच-१७ उडानमा क्षेप्यास्त्र प्रहार भएपछि त्यस्मा सवार सबै २९८ जनाको ज्यान गएको थियो।

एम्स्टर्डेमबाट क्वालालम्पुर गइरहेको बोइङ-७७७ विमान खस्नुअघि आकाशमै टुक्रा-टुक्रा भएको थियो।

छानबिनको निष्कर्ष सुनाउँदै अभियोजनकर्ताहरुले जमीनमा रहेका विद्रोहीको संवादको ‘वायरट्याप’ अर्थात रेडियो सञ्चारको अभिलेख सुनेपछि सो विमान खसाल्न प्रयोग गरिएको क्षेप्यास्त्र त्यसलाई प्रहार गर्न प्रयोग गरिएको उपकरण र त्यसको अवस्थितिबारेका तथ्यहरु थाहा पाइएको बताएका छन्।

डच प्रहरी अधिकारी विल्बर्ट पाउलिस्सेनले जमिनमा रहेका विद्रोही कमाण्डरका संवादको विश्लेषणबाट क्षेप्यास्त्रको प्रकार र त्यो कहाँबाट प्रहार गरिएको थाहा भएको बताए।

‘वायरट्याप’

“पहिलो ‘वायरट्याप’ कुराकानीबाट के प्रष्ट हुन्छ भने त्यो आक्रमण जानीजानी गरिएको थियो। अनुसन्धानको निष्कर्ष के छ भने १७ जुलाई २०१४ का दिन फ्लाइट एमएच-१७ मा ९-एम-३८ सिरिजको क्षेप्यास्त्र प्रहार गरिएको थियो।"

अभियोजनकर्ताहरुले एमएच-१७ उडानमा भएको क्षेप्यास्त्र आक्रमणमा रुस संग्लन भएको भनी आरोप लगाउन आफूहरुले नखोजेको बताएका छन्।

उनीहरुले सो विमानलाई आक्रमण गर्न प्रयोग गरिएको ‘बुक’ भनिने क्षेप्यास्त्र ओसार्न एक सय मानिस सहभागी भएको बताएका छन्।

अनुसन्धानकर्ताहरुले सो क्षेप्यास्त्र प्रहार गर्ने आदेश कस्ले दिएको त्यो प्रष्ट भइनसकेको बताएका छन्।

उनीहरुले सो घटनाका सम्बन्धमा फौजदारी हिसाबले कसलाई जिम्मेवार ठहर्याउने भन्ने विषयमा निर्णय भइनसकेको बताएका छन्।

अनुसन्धानकर्ताको टोलीमा नेदर्ल्याण्डस्, अष्ट्रेलिया, बेल्जियम, मलेसिया र युक्रेनका अधिकारीहरु सामेल थिए।

युक्रेनी विद्रोहीहरुले सो घटनामा आफ्नो संलग्नता नभएको दोहोर्याएका छन्।

रुसले चाहिँ अनुसन्धानको निष्कर्षलाई अस्वीकार गरेको छ।

रुसी संसद डुमाको तल्लो सदनका प्रमुखले निष्कर्ष अति नै राजनीतिक भएको र त्यसको एउटा पनि शब्दलाई आफूले विश्वास गर्न नसक्ने टिप्पणी गरेका छन्।