१९ औं सार्क शिखर सम्मेलन अनिश्चित

  • 28 सेप्टेम्बर 2016
तस्वीर कपीराइट AFP

आठमध्ये चार सदस्य राष्ट्रले सहभागी नहुने जनाएपछि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को आगामी शिखर सम्मेलन अनिश्चित बनेको छ।

सार्कको वर्तमान अध्यक्षको नाताले अब के गर्ने भन्ने विषयमा नेपालले आवश्यक परामर्श थाल्ने प्रधानमन्त्री प्रचण्डका एकजना सल्लाहकारले बताए।

काठमाण्डूमा आयोजित सार्कको १८ औं शिखर सम्मेलनले १९ औं सम्मेलन पाकिस्तानको राजधानी इस्लामावादमा आउँदो नोभेम्बरमा गर्ने घोषणा गरेको थियो।

छिमेकी पाकिस्तानसँगको बढ्दो तनावमाझ भारतले आगामी शिखर सम्मेलनमा सहभागी नहुने मंगलबार घोषणा गरेपछि अनुपस्थित हुने मुलुकहरुको पंक्तिमा भारतसँगै अफ्गानिस्तान, बांग्लादेश र भुटान पनि थपिएका छन्।

असमर्थता

नेपालको परराष्ट्र मन्त्रालयका कार्यवाहक सचिव झवीन्द्रप्रसाद अर्यालका अनुसार ती चारवटै मुलुकले आगामी सम्मेलनमा सहभागी हुन असमर्थ रहेकोबारे सार्कको वर्तमान अध्यक्ष नेपाललाई औपचारिक जानकारी गराइसकेका छन्।

उसो भए वर्तमान अध्यक्षको हैसियतमा नेपालले अब के गर्छ त?

जवाफमा प्रधानमन्त्री प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार ऋषिराज अधिकारीले भने, “हामीले सदस्य राष्ट्रहरुसँग परामर्श गरिरहेका छौँ। त्यसको आधारमा हामीले धारणा बनाउँछौँ। अहिलेको जुन अवस्था छ त्यसमा कसरी अगाडि बढ्ने भन्ने विषयमा हामीबीच छलफल चलिरहेको छ।”

शिखर सम्मेलनमा सहभागी नहुने खासगरी भारतको निर्णयप्रति आयोजक पाकिस्तानले असन्तुष्टि जनाएको छ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जाल ट्वीटरमा राखेको प्रेस विज्ञप्तिमा भारतको निर्णयबारे औपचारिक जानकारी नपाएपनि भारतीय घोषणा 'दूर्भाग्यपूर्ण' भएको उल्लेख छ।

पहल

तस्वीर कपीराइट AFP

सार्कको वर्तमान अध्यक्ष नेपालले चाहिँ सकेसम्म सम्मेलन स्थगित नहोस् भन्ने दिशामा पहल गर्ने जनाएको छ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार ऋषिराज अधिकारीले थपे, “अध्यक्षको हिसाबले हामी के चाहन्छौँ भनेदेखि यो स्थगित नहोस्। यो नरोकियोस्, अगाडि बढोस् भनेर त्यसमा हाम्रो प्रयास हुन्छ।”

भारत प्रशासित काश्मीरस्थित एउटा सैन्य अखडामा १७ जना सैनिकको ज्यान जानेगरी हालै गरिएको एउटा आक्रमणपछि दक्षिण एसियाली दुई प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको तनाव निकै चुलिएको छ।

उसै त सार्कले प्रभावकारी ढंगले काम गर्न नसकेको गुनासा भइरहेका बेला भारत र पाकिस्तानबीचको पछिल्लो तनावको शिकार उक्त क्षेत्रीय संगठन बनेको देखिन्छ।

कतिपयले आगामी शिखर सम्मेलनमा सहभागी नहुने भुटान, अफगानिस्तान र बांग्लादेशको निर्णयलाई भारतकै प्रभावको रुपमा हेरेका छन्।