‘विपद-व्यवस्थापन उपकरणको कमी यथावत’

  • 30 सेप्टेम्बर 2016
भूकम्पपछि क्षतिग्रस्त घर
Image caption विपद व्यवस्थापनको लागि अत्यावश्यक ठूला उपकरण नगण्य रहेको अधिकारीहरु बताउँछन्

भूकम्प, बाढी, पहिरो र दुर्घटना जस्ता विपद व्यवस्थापनको काममा खटिने नेपालका सुरक्षा निकायसंग अझै पनि आवश्यक उपकरणको कमी यथावत रहेको अधिकारीहरुले बताएका छन्।

विगत ६ दिनदेखि त्रिशुली नदीमा खसेको जीप र त्यो संगै हराइरहेका पूर्व गृहमन्त्री र उनका दुई आफन्तको अवस्था अझै अज्ञात छ।

खोजी कार्य जारी रहेको तर त्यसकालागि पर्याप्त आधुनिक उपकरणको अभाव रहेको अधिकारीहरुको भनाइ छ।

गत वर्षको विनाशकारी भूकम्पलगत्तै नेपालमा त्यस्तो विपदसँग जुध्ने क्षमता र दक्षता नभएको प्रष्ट भएपछि सरकारले विपद व्यवस्थापनको लागि पूर्वतयारी र क्षमता अभिवृद्धि गर्दै जाने बताएको थियो।

'कठिन'

तर भूकम्पको तुलानमा निकै सामान्य लाग्ने राजमार्गबाट नदीमा खसेको सवारी साधन निकाल्ने जस्तो विपदको सामान गर्न पनि सरकारी संयन्त्रलाई कठिन परिरहेको देखिन्छ।

चाहे त्यो केही समयअघि त्रिशुली नदीमा खसेको ट्रक निकाल्ने प्रयास होस् वा गत आइतबार पूर्व गृहमन्त्री माधव घिमिरे र उनका दुई आफन्त सहित त्रिशुली नदीमा खसेको जीप निकाल्ने काम होस्, नेपालमा आइपर्ने विपदसँग जुध्ने सरकारी तयारी अझै कमजोर देखिन्छ।

काठमाण्डूदेखि १०० किलोमिटर पश्चिममा पर्ने पृथ्वी राजमार्गको दारेचोकमा खटिएका सशस्त्र प्रहरी बलका एसपी गणेश थापाले घिमिरे र हराइरहेका अन्य दुईको खोजी कार्य अहोरात्र जारी रहेको बताए।

उनले भने, “हामी चौबिसै घण्टा खटिरहेका छौं। झन् देशको भूतपूर्व गृहमन्त्रीजी नै दुर्घटनामा परेको हुनाले हामी गम्भीरतापूर्वक लागिपरिरहेका छौं।”

नेपाली सेनाका प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले पनि यतिखेर त्रिशुली किनारमा जारी खोजी कार्यमा पूरै राज्य लागि परिरहेको बताए।

तथापि नदीबाट दुर्घटनाग्रस्त सवारी साधन निकाल्नेदेखि दुई वर्षअघि सुनकोसी किनारको एक वस्ती नै बगाउनेगरी गएको जुरे पहिरोजस्ता विपदको व्यवस्थापन गर्न आवश्यक पर्ने अत्याधुनिक उपकरणको भने अझै अभाव रहेको सहायक रथी कार्कीले बताए।

“त्रिशुलीमा हामी र सशस्त्रसँग जे जे उपकरण छन् त्यही प्रयोग गरिरहेका छौं तर त्यो पर्याप्त छैन।“

“तर फरक विपदका लागि फरक किसिमका उपकरण चाहिने हुन्छन् हामीले तीनको सूची सरकारलाई दिएका छौं। केही उपकरण त आएका पनि छन्,” उनले भने।

परिचालन

देशमा कतै कुनै दुर्घटना वा विपद आइपरे गृह मन्त्रालयको चौबिसै घन्टा खुल्ला रहने राष्ट्रिय आपत्कालिन कार्यसञ्चालन केन्द्र सक्रिय हुने गर्दछ।

आवश्यक परेमा सो केन्द्रले नेपाली सेनाको हेलिकोप्टर र सुरक्षा निकायहरुलाई पनि परिचालन गर्दछ।

उपकरणको हकमा पहिरो पन्छाउने डोजर, खन्ने एक्स्क्याभेटर र गह्रौं सामाग्री बोक्ने क्रेन जस्ता सामान्य उपकरणको जोहो ती निकायहरुले गर्ने गरेको मन्त्रालयका एक अधिकारीले बताए।

तर गत वर्षको भूकम्पपछि अत्यावश्यक ठानिएका मोटा-मोटा ढलान काट्ने जस्ता अत्याधुनिक उपकरण भने अझै नगण्य रहेको अधिकारीहरु बताउँछन्।