अमेरिकी कानुनप्रति साउदी चासो

  • 30 सेप्टेम्बर 2016
obama तस्वीर कपीराइट
Image caption अमेरिकी राष्ट्रपति ओबामाले आफ्ना फौजहरुलाई पनि अप्ठयारो पर्न सक्ने भन्दै नयां कानुनप्रति चिन्ता जनाएका थिए

साउदी अरेबियाले सन् २००१ सेप्टेम्बर ११ का आतंकवादी हमलाका पीडित परिवारले आफ्ना अधिकारीविरुद्ध मुद्दा हाल्न मिल्ने कानुन अमेरिकी संसदले पारित गरेपछि त्यसप्रति गहिरो चासो व्यक्त गरेको छ।

उक्त कानुन पारित भएको एक दिनपछि अमेरिकी संसदका रिपब्लिकन सदस्यहरुले पनि त्यसमाथि पुनर्विचार गर्न आफूहरुले चाहेको बताएका छन्।

असर

साउदी विदेश मन्त्रालयले नयां अमेरिकी कानुनका कारण सोभरेन इम्युनिटी अर्थात् कुनै सार्वभौम मुलुकले कानुनी गल्ती नगर्ने र सार्वजनिक मुद्दा तथा फौजदारी कारबाहीबाट उसलाई छुट हुने कानुनी मान्यता धरापमा पर्ने बताएको छ।

त्यसले अमेरिकासहित सबै मुलुकलाई नकारात्मक असर पार्ने साउदी विदेशमन्त्रालयको वक्त्वयमा उल्लेख छ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि नयां कानुनका कारण आफ्ना फौजहरु विदेशमा कानुनी दायरामा आउन सक्ने भन्दै त्यससम्बन्धी विधेयक रोक्न विशेषाधिकार भिटो प्रयोग गरेका थिए।

तर उक्त भिटोलाई बिहीबार अमेरिकी संसदले अस्वीकार गरेपछि साउदी अधिकारीविरुद्ध मुद्दा हाल्न बाटो खुलेको थियो।

त्यसको एकदिनपछि उक्त कानुनलाई समर्थन गर्ने रिपब्लिकन सांसदहरु नै पुनर्विचार गर्ने पक्षमा देखिएका छन्।

स्वीकार

माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीका नेता मिच म्याककोनेलले उक्त कानुनको सम्भावित दुष्परिणामबारे सांसदहरुले नबुझेको स्वीकार गरेका छन्।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले रिपब्लिकनहरुको उक्त भनाइलाई हतारमा काम गरेर पछुताउनु परेको उदाहरण भनेको छ।

ह्वाइट हाउसका प्रवक्ता जन अर्नेस्टले भने, "मलाई थाहा छ, केही सांसद आफैले खडा गरेको समस्या अहिले समाधान गर्न खोज्दैछन्। राष्ट्रपति ओबामाले पहिलेदेखि नै यसमा अडान लिदैं आउनुभएको थियो र यदि सांसदहरु हात मिलाउन चाहन्छन् भने राष्ट्रपतिले त्यसको स्वागत गर्नुहुनेछ। तर यो अहिले पीडादायक रुपमा ढिलो भइसकेको छ।"

पछिल्लो विधेयक अनुमोदन गर्न राष्ट्रपतिको दल डेमोक्र्याटिक पार्टीका सांसदहरुले पनि मतदान गरेका थिए।

उनीहरुबाट चाहिँ पुनर्विचारबारे धारणा आइसकेको छैन।