डा. केसी अनशनको छैठौं दिन प्रदर्शन

  • 1 अक्टोबर 2016
Image caption डा. गोविन्द केसीको समर्थनमा भएको प्रदर्शनमा सहभागी हुन आफ्नै खर्चमा तराईबाट आएको केही प्रदर्शनकारीले बताए

चिकित्सा शिक्षा क्षेत्रमा रहेको बेथितिविरुद्ध नवौं अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनमा राजधानीमा प्रदर्शन भएको छ।

चिकित्सा शिक्षासम्बन्धी विधेयक संसद्को चालु अधिवेशनमा पारित गर्नुपर्ने डा. केसीको मुख्य माग छ।

त्यसैगरी स्वास्थ्य शिक्षा क्षेत्रमा अनाधिकृत दखल दिएको भन्दै डा. केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की र अर्का एक आयुक्तविरुद्ध महाभियोग प्रस्ताव ल्याउन माग गरेका छन्।

अनशनको छैठौं दिन शनिबार उनको स्वास्थ्यस्थिति स्थिर रहेको उनका सहयोगीहरुले बताएका छन्।

'पागल'

शनिबार डा. केसीको समर्थनमा राजधानीको बबरमहलदेखि बानेश्वरसम्म प्रदर्शन गरिएको थियो।

केही समयअघि उनको आठौं अनशनका बेला अख्तियारका तत्कालीन प्रवक्ता कृष्णहरि पुष्करले डा. केसीलाई 'पागल'को संज्ञा दिएपछि शुरु भएको निधारमा कालो कपडामा पागल लेखेर प्रदर्शन गर्ने कामलाई यसपटक पनि निरन्तरता दिइएको थियो।

भ्रष्टाचारविरुद्धका नाराहरु लेखिएका प्लाकार्ड बोक्ने अधिकांश युवाहरुको जमातमा मिसिएका थिए गञ्जी र गम्छा बेरेका वा सामान्य कुर्ता पाइजामा लगाएका मधेशी मूलका केही व्यक्ति।

खाली खुट्टा या सामान्य हवाई चप्पलमा जुलुशमा सहभागी उनीहरुले भने, "डा. केसीको मागमा समर्थन जनाउन काठमाण्डू आएको यो चौथोपटक हो। उनले राम्रो कामका लागि लडेका छन्, भ्रष्टाचारविरुद्ध अनशन बसेका छन् त्यसैले आएका हौं।"

Image caption चिकित्सा शिक्षा क्षेत्रको बेथिति सम्बन्धी भन्दा ब्यानर र प्लाकार्डहरुमा भ्रष्टाचार विरोधी नारा धेरै थिए

उनीहरुले आफ्नै खर्चमा काठमाण्डू आएको बताए। सोलिड्यारिटि फर डा. गोविन्द केसी अलायन्सले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न दल सम्बद्ध नेता, कार्यकर्ता, सांसद र विभिन्न पेशाकर्मी संलग्न थिए।

यसअघिका अनशनमा पनि विभिन्न पेशा सम्बद्ध व्यक्ति, पेशागत संघ संगठनदेखि राजनीतिक दलका नेता-कार्यकर्ताले डा. केसीका आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आएका छन्।

सामना

संभवत त्यसप्रति संकेत गर्दै हाल क्यानडा भ्रमणमा रहेका अख्तियार प्रमुख लोकमानसिंह कार्कीले शनिबार आफ्नो ट्वीटरमा 'भ्रष्टाचारको अनुसन्धानलाई प्रभावित गर्न निर्माण भएका हरेक अपवित्र गठबन्धनको आयोगले निर्भिकतापूर्वक डटेर सामना गर्नेछ' भन्ने ट्वीट गरेका छन्।

कार्कीमाथि महाभियोग लगाउने भन्ने माग संसद्ले संबोधन गर्नुपर्नेछ।

सरकारले डा. केसीका सबैजसो माग संबोधन गर्ने तयारी गरेको भनिएपनि रिक्त रहेको चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जको डीन नियुक्ति सम्बन्धमा भने चलखेल भइरहेको आशंका जानकारहरुले गरेका छन्।

डा. केसीले वरिष्ठतम व्यक्तिलाई आइओएमको डिन नियुक्त गर्नुपर्ने माग राख्दै आएका छन्।