सिरियामा अस्पतालमाथि फेरि 'हमला'

  • 1 अक्टोबर 2016
तस्वीर कपीराइट AP

सिरियाको अलेप्पोमा सबैभन्दा ठूलो क्षेत्रीय अस्पतालमाथि दोस्रोपटक हवाई हमला भएको खबर प्राप्त भएको छ।

सिरियाको विद्रोही नियन्त्रित पूर्वी क्षेत्रमा भएको हवाई हमलाले एक हप्तामा दोस्रोपटक उक्त क्षेत्रको सबैभन्दा ठूलो अस्पताललाई निशाना बनाएको एउटा स्वास्थ्य सहायता संस्थाले बताएको छ।

अस्पताललाई सहयोग गर्ने सिरियन अमेरिकन मेडिकल सोसवाईटीले अस्पतालमाथि ब्यारल बम प्रहार गरिएको बताएको छ।

अस्पतालमाथि यसै हप्ता बुधबार त्यस्तै किसिमको आक्रमण भएको थियो।

सहयोगको अपील

बुधबार एम१० अस्पतालमाथि हमला भएपछि त्यहाँ सेवा दिन बन्द गरिएको बताइएको थियो।

तर हमला हुँदा भवनभित्रै रहेका केही बिरामी र कर्मचारीहरु त्यहीं भित्र फसेको अस्पतालका एकजना कर्मचारीले बताएका छन्।

शनिबार अस्पतालका प्रशासकले भवनभित्रबाट तुरुन्तै सहयोगका लागि अपील गरेको एएफपी समाचार संस्थाले बताएको छ।

फ्रान्सका स्वास्थ्यमन्त्री जँ मार्क एयरोले स्वास्थ्य संरचना र कर्मचारीमाथि आक्रमण गर्नु युद्ध अपराधसरह भएको भन्दै उक्त आक्रमणको निन्दा गरेका छन्।

फेरी आक्रमण

तस्वीर कपीराइट AFP

कुनै समयमा सिरियाको आर्थिक र औद्योगिक केन्द्र रहेको अलेप्पो शहर सन् २०१२ देखि दुई भागमा विभाजित भएको छ।

सेप्टेम्बर महिनाको १९ तारिखमा एउटा आंशिक युद्धविराम भंग भएपछि रुसी तथा सिरियाली वायु सेनाले अलेप्पोको विद्रोही नियन्त्रित पूर्वी क्षेत्रमाथि फेरि आक्रमण गर्न थालेका छन्।

सरकारी सेनाले विद्रोहीविरुद्ध स्थलगत आक्रमण पनि थालेका छन्।

सिरियली सेनाले अघि बढिरहेको बताएको छ तर विद्रोहीहरुले त्यो अस्वीकार गरेका छन्।

रुसी र सिरियाली हवाई हमलाका कारण यस हप्ता उक्त शहरमा बालबालिका समेत कम्तीमा ४०० जना मारिएको संयुक्त राष्ट्रसंघको भनाई छ।

सर्वसाधारणको मृत्यदर बढेपछि त्यसको अन्तर्राष्ट्रिय विरोध भएको छ।

विवाद

वाशिंटन र मस्कोले सिरियाका बारेमा विवाद जारी राखेका छन्।

रुसले मध्यमार्गी विद्रोहीलाई जिहादीको नजिक पुर्याएको अमेरिकाको भनाई छ।

अमेरिकाले सिरियाली राष्ट्रपति बशर अल असदलाई पदच्यूत गर्नका निम्ति जिहादी समूहलाई संरक्षण दिईरहेको रुसले आरोप लगाएको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मार्क टोनरले ती आरोपलाई निराधार भन्दै बेवास्ता गरेका छन्।

अमेरिकाले यस विषयमा रुससँग गरिरहेको सहकार्य अन्त्य गर्न सक्ने बताएको छ।

प्रभाव

सन् २०११ को मार्च महिनामा सिरियामा द्वन्द्व शुरु भएदेखि कम्तीमा २ लाख ५० हजारको मृत्यु भएको छ।

ब्रिटेनस्थित पर्यवेक्षक समूह सिरियन अब्जर्भेटरी फर ह्युमन राईट्सले मृत्यु हुने मानिसको संख्या ४ लाख ३० हजार सम्म हुनसक्ने अनुमान गरेको छ।

४८ लाख मानिस देश छोडेर भागेका छन् भने करीब ६५ लाख देशभित्रै विस्थापित भएको संयुक्त राष्ट्रसंघले अनुमान गरेको छ।