'इयुबाट अलग गर्ने कानून अर्को वर्ष'

  • 2 अक्टोबर 2016
Image caption कन्जरभेटिभ पार्टीको सम्मेलन चारदिनसम्म बर्मिङहममा चल्नेछ

ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले भनेकी छन्, उनले महारानीको अबको सम्बोधनका बेला ब्रिटेन युरोपेली संघभित्र हुने कानुनलाई उल्ट्याउन नयाँ विधेयक ल्याउने छिन्।

उक्त विधेयकले युरोपेली समुदायको कानुनलाई, संग्रह किताबबाट हटाउने छ र त्यसले युरोपेली संघको कानुनको सर्वोच्चतालाई अन्त्य गर्नेछ।

सरकारले युरोपेली संघका सबै विद्यमान कानुनलाई ब्रिटेनको कानुनमा प्रतिस्थापन गर्छ र अनावश्यक प्रावधानलाई पछि हटाउनेछ।

कन्जरभेटिभ पार्टीका सदस्यहरु आफ्नो वार्षिक सम्मेलनका लागि भेला भएका बेला प्रधानमन्त्री मेको यस्तो प्रतिवद्धता आएको हो।

प्रावधान

सन् १९७२ को कानुनको धारा ५० मा संघ छोड्ने प्रक्रियासम्बन्धी प्रावधान उल्लेख छ।

युरोपेली संघबाट संयुक्त अधिराज्य औपचारिक रुपमा बहिर्गमन नहुँदासम्म उक्त प्रावधान रद्द हुने विषय कार्यान्वयनमा आउने छैन।

प्रधानमन्त्री मेले यसअघि युरोपेली संघ छोड्ने प्रक्रिया अर्को वर्षसम्म शुरु नहुने बताएकी थिइन्।

'सन्डे टाइम्स' पत्रिकालाई दिइएको अन्तर्वार्तामा उनले युरोपेली संघबाट बाहिरिनका लागि ल्याइने विधेयकले संयुक्त अधिराज्य पुन: एकपटक सार्वभौम र स्वतन्त्र मुलुक हुने पहिलो चरणको संकेत गर्ने बताइन्।

उक्त विधेयकले शक्ति र अधिकार आफ्नै देशको निर्वाचित संस्थामा फिर्ता गराउने बताइन्।

उनले त्यसको अर्थ युरोपेली संघको ब्रिटेनमा रहेको अधिकारको अन्त्य हुने बताइन्।

मेले कन्जरभेटिभ पार्टीको वार्षिक सम्मेलनमा युरोपेली संघबाट ब्रिटेन बाहिरिने विषय हाबी नहोस् भन्ने आफुले चाहेको पनि बताइन्।

यसअघि गएको जुनमा भएको जनमत संग्रह मार्फत ब्रिटेनले इयुबाट अलग हुने निर्णय गरेको थियो।