'उद्यम गर्न चाहनेलाई तालिम र ऋण'

  • 3 अक्टोबर 2016
qatar तस्वीर कपीराइट AFP
Image caption विदेशमा निकै कठिन काम पनि नेपालीहरुले थोरै रकममा गरिरहेको अवस्थामा उनीहरुलाई लक्षित गरी नयां योजना ल्याइएको बताइएको छ

सरकारले उद्योग खोल्न चाहनेहरुलाई त्यस सम्बन्धी प्रशिक्षण र आधारभूत रकमको व्यवस्था गर्ने नयाँ योजना सार्वजनिक गरेको छ।

सामूहिक जमानीमा एकदेखि पांच लाख रुपैयाँसम्म ऋण दिने पुरानै व्यवस्था पनि दोहोर्याइएको उक्त योजनामा उद्योग खोल्न सघाउने दक्ष उत्प्रेरकको समेत व्यवस्था देशभरि नै गर्न लागेको उद्योगमन्त्रीले बताएका छन्।

तयारी

उद्यमी बन्न चाहने जनतालाई उद्योग सम्बन्धी व्यवसायिक प्रशिक्षण दिनका निम्ति प्रत्येक जिल्लामा उत्प्रेरक कर्मचारीको व्यवस्था गर्ने काम अन्तिम चरणमा पुगेको बताइएको छ।

खासगरी विदेशिन चाहने युवाहरुलाई लक्षित गरी ल्याउन लागेको भनिएको उक्त योजनाबारे उद्योगमन्त्री नवीन्द्रराज जोशीले भने, "प्रत्येक जिल्लामा एकजना उत्प्रेरक राख्छौं। उनीहरु जिल्लामा पुगेर, उद्यमी हुन चाहनेहरुलाई कहाँ पैसा पाइन्छ, कसरी प्रशिक्षण दिइन्छ, कस्तो किसिमको प्रशिक्षणहरु उपलब्ध छन् र पछि उनीहरुलाई उद्यमी बन्नका लागि के सम्भावना छ, ती कुराको जानकारी दिन्छन्।"

मन्त्री जोशीका अनुसार उद्यमी जागरण अभियानको रुपमा उक्त कार्यक्रम रहेको छ र ठूला उद्योगी व्यापारीहरुका लागि पनि सहजीकरणको व्यवस्था गरिनेछ।

उत्प्रेरणा

उद्यम गर्न चाहनेलाई सरकारकोतर्फबाट आधारभूत रकमको व्यवस्था हुने र विदेशीहरुसंग पनि यस योजनामा सहयोग गर्ने वातावरण निर्माण गर्न लागिएको पनि मन्त्री जोशीले बताए।

उनले भने, "हामीले सामूहिक जमानीमा एक लाखदेखि ५ लाख सम्मको ऋण दिने पहिले कै व्यवस्था जारी राख्नेछौं। त्यसमा नयाँ योजनाहरु पनि थपिएका छन्। साथै विदेशी दाताहरुसंग पनि यो योजनामा सहयोग गर्ने विषयमा छलफल भइरहेको छ।"

लामो समयदेखि देशमा कायम अस्थिर राजनीति र बढ्दो बेरोजगारीका कारण थुप्रै युवा विदेशिने क्रम बढेको र स्थापित साना ठूलागरी ३० हजार जति उद्योगहरुले नवीकरण नगरेको मन्त्रालयको तथ्यांक छ।

नयाँ व्यवस्थाले त्यो क्रम घट्दै जाने दावी मन्त्रालयले गरेको छ।