सिरियासम्बन्धी अमेरिका-रुस वार्ता स्थगित

  • 4 अक्टोबर 2016
syria तस्वीर कपीराइट AFP
Image caption एलेप्पोमा दुईसाताअघि युद्धविराम भंग भएयता बालबालिकासहित सयौं मानिसको ज्यान गएको छ

अमेरिकाले सिरियासम्बन्धी रुससंगका वार्ताहरु स्थगित गर्ने घोषणा गरेको छ।

अमेरिकी विदेशमन्त्रालयले युद्धविराम लागु गर्न गत महिना भएको सम्झौताका प्रावधानहरु मस्कोले पालना नगरेको जनाएको छ।

आरोप-प्रत्यारोप

उसले उक्त सम्झौतामा सिरियाली सरकारलाई अडिग राखिरहन रुस विफल पनि भएको बताएको छ।

अमेरिकी राष्ट्रपति कार्यालयका प्रवक्ता जन अर्नेस्टले भने, “के कुरा प्रष्ट छ भने, सिरियामा हिंसा घटाउने सहमतिमा पुग्नका लागि प्रयास गर्नेसम्बन्धमा अमेरिका र रुसबिच अब थप कुराका लागि केही पनि छैन। र, यो दु:खद हो”।

रुसी विदेश मन्त्रालयले पछिल्लो अमेरिकी कदमप्रति खेद जनाउंदै अमेरिका स्वयम सम्झौतामा अडिन नसकेपछि मस्कोमाथि आरोप थुपारेको जवाफ दिएको छ।

जिहादी समूहहरुविरुद्ध मिलेर हवाई आक्रमण गर्नेबारे अमेरिका र रुसका अधिकारीहरुबिच जिनेभामा वार्ता गर्ने तय भएको थियो।

तर पछिल्लो कदमसंगै अमेरिकी अधिकारीहरुलाई घर फर्कन भनिएको छ।

कठिन

सिरियाको एलेप्पो शहरको विद्रोही नियन्त्रित भागस्थित सबैभन्दा ठूलो अस्पतालमाथि पुन: हवाई हमला भएको विवरणहरु प्राप्त भएका छन्।

एक सातामा उक्त अस्पतालमा यो तेस्रो आक्रमण हो।

अभियानकर्मीहरुले उपलब्ध गराएको भिडियोमा ‘एम टेन’ अस्पतालको एउटा भागमा पर्खाल भत्किएको र ठूलो खाल्डो परेको देखिन्छ।

अस्पताललाई सहयोग गर्दै आएको एउटा परोपकारी संस्थाले सोमबारको आक्रमणमा मर्मतसम्भारसम्बन्धी तीन जना कर्मचारीको ज्यान गएको बताएको छ।

दुई साताअघि युद्धविराम भंग भएयता एलेप्पोमा भीषण हवाई हमला भइरहेको छ।

त्यहाँ सरकारी फौजले गरेको कारबाहीमा बालबालिकासहित सयौं मानिसको ज्यान गइसकेको छ।

पूर्वी एलेप्पोमा करिब २ लाख ५० हजार मानिस फसिरहेको अनुमान गरिएको छ।