पोर्चुगलका गुटेरेश राष्ट्रसंघीय महासचिव तय

  • 6 अक्टोबर 2016
unsc तस्वीर कपीराइट Reuters
Image caption राष्ट्रसंघीय सुरक्षा परिषदमा बुधबार भएको गोप्य मतदानमा गुटेरेशको विपक्षमा कुनै मत जाहेर भएन

पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो गुटेरेश राष्ट्रसंघका नयां महासचिव बन्ने तय भएको छ।

बुधबार भएको गोप्य मतदानमा राष्ट्रसंघीय सुरक्षा परिषद्का कुनै पनि सदस्य उनको विपक्षमा नदेखिएपछि गुटेरेश महासचिव बन्ने पक्का भएको हो।

रोजाइ

उक्त अनौपचारिक अनुमोदन बिहीबार एउटा मतदानमार्फत औपचारिकतामा बदलिनेछ।

त्यसलाई थप अनुमोदनका लागि राष्ट्रसंघीय महासभामा पठाइनेछ।

१५ सदस्यीय राष्ट्रसंघीय सुरक्षा परिषदमा बुधबार १० जना उम्मेदवारको पक्ष, विपक्षमा मत जाहेर गर्न भनिएको थियो।

त्यसमा सदस्य मुलुकहरुले ‘प्रोत्साहन,’ ‘निरुत्साहन’ वा ‘कुनै धारणा नराख्ने’ भन्ने तीनवटा विकल्पमध्ये एउटा छान्नुपर्ने थियो।

त्यसो गर्दा गुटेरेशले १३ वटा ‘प्रोत्साहन’ मत पाएका थिए भने दुईवटा ‘कुनै धारणा नराख्ने’ भन्ने मत।

स्थान

उक्त अनौपचारिक मतदानपछि सुरक्षा परिषद्का सदस्य मुलुकका प्रतिनिधिहरुसंगै उभिएर रुसी राजदूत भिटाली चुर्किनले सबै उम्मेदवारको सुझबुझ धेरै रहेतापनि आफूहरुको रोजाइमा गुटेरेश परेको सञ्चारमाध्यमहरुलाई बताए।

राष्ट्रसंघीय शरणार्थी निकाय युएनएचसीआर को प्रमुखको रुपमा १० वर्ष काम गरेका गुटेरेश एक जना निकै अनुभवी कूटनीतिज्ञ हुन्।

उनी सन् १९९५ मा पोर्चुगलका प्रधानमन्त्री चुनिएका थिए।

गुटेरेशले सन् २०१७ को सुरुवातमा हालका राष्ट्रसंघीय महासचिव बान की मुनको स्थान लिनेछन्।