पूर्वी अलेप्पोमा बमबारी रोक्न आग्रह

  • 6 अक्टोबर 2016

संयुक्त राष्ट्रसंघले सिरियाको पूर्वी अलेप्पो नगर र त्यहाँका वासिन्दलाई नष्ट हुनबाट जोगाउन आग्रह गरेको छ।

पूर्वी अलेप्पोमा एक हजार भन्दा कम जिहादी विद्रोहीहरु रहेको अनुमान गरिएको छ।

सिरियाका लागि राष्ट्रसंघका विशेष दूत स्टेफान ड मिस्टुराले पूर्वी अलेप्पोमा अहिलेकै जस्तो आक्रमण जारी रहे सो नगर दुई महिनामा नष्ट हुने बताए।

चेपुवा

त्यहाँ अढाई लाखभन्दा बढी गैरसैनिकहरु द्वन्द्वको चेपुवामा फसिरहेको राष्ट्रसंघको अनुमान छ।

मिस्टुराले पूर्वी अलेप्पोका द्वन्द्व अन्त्य गर्न नसकिए आगामी क्रिसमस र नयाँ वर्ष सम्ममा त्यहाँको अवस्था अत्यन्त दयनीय हुन सक्ने बताए।

उनले भने, “तपाई के यही हेर्न चाहनुहुन्छ आउने क्रिसमस र नयाँ वर्षमा? यही गतिमा द्वन्द्व चर्किरहने हो भने पूर्वी अलेप्पो द्वन्द्वबाट ध्वस्त सिरयाली होम्स नगरभन्दा पनि ५० गुणा नराम्रो अवस्थामा पुग्न सक्छ।”

मिस्टुराले राष्ट्रसंघले विगतमा नरसंहार चर्किएका सेब्रेनिचा र रवाण्डामा जस्तो अब चुपचाप नचाहने बताए।

पूर्वी अलेप्पोमा एक हजारभन्दा कम संख्यामा जिहादी विद्रोहीहरु रहेको भनिए पनि त्यहाँ रुसी फौजको समर्थनप्राप्त सिरियाली सरकारी फौज र विद्रोहीफौजबीच लडाईं रोकिएको छैन।

आग्रह

मिस्टुराले नौ सयको संख्यामा रहेका नुस्रा लडाकू भनिने जिहादीलाई आक्रमण गर्ने क्रममा पूर्वी अलेप्पो शहर र त्यहाँका नागरिकसबैलाई सिध्याउने गरी आक्रमणहरु जारी राखिएमा मस्को र दमास्कसको कदमलाई इतिहासले मूल्यांकन गर्ने बताए।

त्यहाँ जारी लडाईं अन्त्य गर्न र गैरसैनिकहरुले भोगिरहेको दु:खको अन्त्य गर्नका लागि मिस्टुराले नुस्रा लडाकूहरुलाई पनि अलेप्पोबाट पछि हट्न आग्रह गरे।

उनले अलेप्पो शहर छोड्न चाहने विद्रोहीलाई व्यक्तिगत रुपमा सुरक्षाको प्रबन्ध मिलाइदिने आश्वासन समेत दिएका छन्।

रुसको विदेश मन्त्रालयले नुस्रा समूहलाई पछि हट्न गरिएको आग्रहलाई स्वागत गरेको बताइएको छ।