कोलम्बियाका राष्ट्रपतिलाई नोबेल शान्ति पुरस्कार

  • 7 अक्टोबर 2016
सान्तोस तस्वीर कपीराइट Getty
Image caption सान्तोसले देशमा शान्ति बहाली गर्ने तर्फ आफुले सक्दो प्रयास गर्ने बताएका छन्

यस वर्षको नोबेल शान्ति पुरष्कार पचास वर्ष भन्दा लामो गृहयुद्ध अन्त्य गर्न गरेको प्रयासकालागि कोलम्बियाका राष्ट्रपति ख्वान म्यानवेल सान्तोसलाई प्रदान गरिएको छ।

नर्वेमा शुक्रबार बिहान त्यस्तो घोषणा गरिएको हो।

नोबल पुरस्कार समितिकी अध्यक्ष कासी कुलमनले भनिन्, "नर्वेको नोबेल समितिले सन् २०१६ को शान्तिकालागि नोबेबल पुरष्कार कोलम्बियाका राष्ट्रपति ख्वान म्यानवेल सान्तोसलाई आफ्नो देशमा ५० वर्ष भन्दा पुरानो गृहयुद्ध अन्त्य गर्न गरेको प्रयासहरुकालागि दिने निर्णय गरेको छ।"

फार्क विद्रोहीहरु तथा कोलम्बिया सरकारबीच क्युबाको राजधानी हवानामा चार वर्षसम्म चलेको वार्तापछि गत महिना स्थायी शान्ति संझौता भएको थियो।

जनमत संग्रह

तर यसै सप्ताहान्तमा गराइएको जनमत संग्रहमा अत्यन्तै सानो अन्तरले कोलम्बियाका जनताले उक्त संझौतालाई अस्वीकार गरीदिएका थिए।

राष्ट्रपति सान्तोसले अझैपनि देशमा शान्ति बहाली गर्ने तर्फ आफुले सक्दो प्रयास गर्ने बताए।

५२ वर्षसम्म चलेको सशस्त्र द्वन्द्वका क्रममा कोलम्बियामा दुई लाख साठी हजार भन्दा बढी मानिसहरुको ज्यान गैसकेको छ भने ६० लाख भन्दा बढी मानिसहरु विस्थापित भएका थिए।

संसारभरि ठूलो चासोका साथ हेरिने नोबेल शान्ति पुरस्कारकालागि यसवर्ष २२८ जना व्यक्ति तथा १४८ संस्थाहरु समेत ३७६ उम्मेदवारहरुको सूची छनोट गरिएको थियो।

तीमध्ये सिरियामा बम हमलामा चोटपटक लागेका सर्वसाधारणलाई अस्पतालसम्म पुराउन आफ्नो ज्यान जोखिममा पारेर खटिरहेका ‘हवाइट हेल्मेट्स भोलन्टियर’ भनिने स्वयम्सेवकहरु, इरानको आणविक कार्यक्रमसंबन्धी अन्तर्राष्ट्र‌िय संझौताका वार्ताकारहरु तथा युरोप आउने क्रममा समुद्रमा डुँगा डुब्दा मृत्युको संघारमा पुगेका आप्रवासीहरुको ज्यान जोगाउन खटिरेहका ग्रीक प्रायद्वीपका वासिन्दाहरु पनि थिए।

नोबेल समितिले यसवर्षको शा्न्ति पुरस्कार राष्ट्रपति सान्तोसलाई दिने घोषणा गरेपनि उक्त संझौताका अर्का हस्ताक्षरकर्ता फार्क विद्रोहीहरुका नेता रोड्रिगो लन्डनियोलाई भने त्यसमा समावेश गरेन।

आलोचना

कोलम्बियाका भूतपूर्व राष्ट्पति अल्भारो उरिबे लगायतका आलोचकहरुले उक्त संझौतामा विद्रोहीहरुलाई धेरै छुट दिइएको भनि त्यसको आलोचना गरेका थिए।

संझौतामा द्वन्द्वकालमा गरिएका अपराधहरुमा मुद्दा चलाउन विशेष अदालतहरु गठन गर्ने तथा आउँदा दुई चुनावहरुमा कोलम्बियाको संसदमा फार्क विद्रोहीहरुलाई दश, दश स्थान दिने लगायतका प्रावधानहरु रहेका छन्।

जनमतसंग्रहमा पराजीत भएपछि पनि संझौताका दुबै पक्षले देशमा शान्ति कायन गर्न प्रयास गरिरहने बताएका छन्।

नोबेल शान्ति पुरस्कार पाएपछि त्यसकालागि प्रयास जारी राख्‍न राष्ट्रपति सान्तोसलाई थप मदत पुग्ने ठानिएको छ।