‘आगामी असोजभित्रै सबै तुइन विस्थापन’

  • 8 अक्टोबर 2016
wirebridge
Image caption सरकारले तुइनको स्थानमा यस्ता झोलुङ्गे पुल बनाउने काम अघि बढाइरहेको छ

सरकारले गतवर्ष गरेको वाचा अनुरुप नै दुई वर्षभित्र देशभरका तुइनहरु विस्थापित गर्ने लक्ष्य भेट्ने गरी निर्माण कार्य अगाडि बढाइएको अधिकारीहरुले बताएका छन्।

आगामी असोज मसान्तसम्ममा तुइनहरुलाई विस्थापित गरिसकिने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको झोलुङ्गे पुल महाशाखाका एकजना अधिकारीले बताए।

एकजना पूर्वाधारविज्ञले तुइन विस्थापनसँगै अब विस्तारै व्यवस्थित बस्ती निर्माणमा राज्यले ध्यान दिनुपर्ने बताएका छन्।

घोषणा

भूकम्प लगत्तैको नेपाल-भारत सीमा नाकामा उत्पन्न अवरोधमाझ निर्माण सामाग्रीको अभाव लगायत कारणले प्रभावित निर्माण कार्यले पुनः गति लिएको अधिकारीहरुले बताएका छन्।

अधिकारीहरु भन्छन्, तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले आफ्नो पहिलो निर्णयका रुपमा दुई वर्षभित्रमा देशलाई तुइनरहित बनाउने घोषणा गर्नुअघि झोलुङ्गे पुलको निर्माण नभइरहेको अवस्था त थिएन, तर उनको सरकारले एउटा लक्ष्य निर्धारण गरेपछि उक्त कार्यले थप ऊर्जा पाएको हो।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको झोलुङ्गे पुल महाशाखाका योजना प्रमुख कुमार थापा भन्छन्,"अहिले सातवटा तुइन झोलुङ्गे पुलले विस्थापित भइसकेका छन्। केन्द्रबाट निर्माणाधीन ५२ वटा छन्। त्यसैगरी जिल्ला विकास समितिबाट निर्माण भइरहेका ५६ वटा छन् र केन्द्रबाट असोजको २० गतेभित्र टेण्डर खोल्नेगरी २५ वटाको भइसकेको छ।"

बझाइ

धेरैको बुझाइमा पूर्ण रुपमा तुइन विस्थापन भनेजस्तो सहज छैन।

तुइन हटाएर झोलुङे पुल निर्माण गरेपछि त्यस्तै हुने आशामा कतिपय मानिसले नजिकै नयाँ तुइन राखिदिने गरेको स्वयं अधिकारीहरु पनि स्वीकार्छन्।

उक्त पृष्ठभूमिमाझ तुइनलाई सदाका निम्ति हटाउन बस्ती निर्माणबारे पनि सोच्न आवश्यक भइसकेको जापानका धेरै वर्ष बिताएका पूर्वाधारविज्ञ डा. सूर्यराज आचार्य बताउँछन्।

उनले भने,"तुइन जोखिमयुक्त भएकोले सरकारले त्यसलाई विस्थापित गरेर झोलुङ्गे पुल बनाउने सही नीति हो। तर त्यो सँगसँगै हामीले अलिकति माथिको बस्तीहरुलाई नै व्यवस्थित बस्ती विकासको सन्दर्भमा जोडेर त्यो तुइनको अथवा नदी तर्नुपर्ने आवश्यकतालाई नै घटाउनेबारे पनि सोच्नुपर्छ।"

निकै जोखिमपूर्ण मानिने तुइनबाट नदी तथा खोलानाला तर्ने क्रममा बालबालिकासहित कयौं मानिस खस्दा खोलाले बगाउने र तीमध्ये कतिपयको ज्यान समेत जाने गरेको बताइन्छ।