काठमाण्डूमा थप खानेपानी ल्याउने योजना

  • 12 अक्टोबर 2016
तस्वीर कपीराइट .

मेलम्चीको पानी भविष्यमा काठमाण्डूबासीलाई अपर्याप्त हुने ठहर गर्दै अधिकारीहरुले सिन्धुपाल्चोकका अन्य दुई नदी लार्के र याङ्ग्रीको पानी मेलम्चीको सुरुङबाटै काठमाण्डू ल्याउनका लागि परामर्शहरु थालिसकिएको बताएका छन्।

उनीहरुका अनुसार पहाड फोडेर नयाँ सुरुङ बनाएर ती नदीबाट दैनिक थप ३४ करोड लिटर पानी काठमाण्डू ल्याउनका लागि ३० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

मेलम्ची, लार्के र याङ्ग्री नदीबाट गरी दैनिक ५१ करोड लिटर पानी ल्याउने सरकारी योजना छ।

पर्याप्त पानीका लागि लार्के र याङ्ग्री आयोजनाको काम दुई वर्षपछि अर्थात सन् २०१८ बाटै थाल्ने तयारी अघि बढिरहेको बताइएको छ।

जोडतोड

अर्को दशैँसम्ममा मेलम्चीको २७ किलोमिटर लामो सुरुङ निर्माण कार्य सकिने र त्यसबाट पहिलो चरणमा १७ करोड लिटर पानी काठमाण्डू झार्ने योजना जोडतोडका साथ अघि बढिरहेको अधिकारीहरुको भनाई छ।

तर ४० लाख मानिस बस्ने काठमाण्डू उपत्यकाको जनसंख्या बढ्दो क्रममा रहेकोले खानेपानीको अभाव हुन नदिन मेलम्चीको सुरुङमा लार्के र याङ्ग्री नदीबाट अर्को ३४ करोड लिटर पानी थप्नका लागि गृहकार्य शुरु भइसकेको छ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले भने, “दशैँपछि हामी विज्ञहरु नियुक्त गरेर अध्ययनको काम शुरु गर्ने तयारीमा छौँ। अध्ययनको काम सन् २०१७ मा सकिएपछि हामी निर्माणको तयारीको चरणमा जान्छौँ।”

काठमाण्डू उपत्यकाको जनसंख्या दश वर्षपछि ५० लाख पुग्ने र पानीको माग बढेर दैनिक ७० करोड लिटर पुग्ने अनुमान गरिएको छ।

दैनिक १७ करोड लिटरको दरले मेलम्ची, लार्के र याङग्रीबाट दैनिक कूल ५१ करोड लिटर पानी काठमाण्डू ल्याउने योजना छ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक भट्टराईका अनुसार पहाड फोडेर लार्के र याङ्ग्री नदीको पानी मेलम्चीको सुरूङतर्फ सोझ्याउन करिब १२ किलोमिटर लामो सुरुङ खन्नुपर्छ।

परामर्श

उनले त्यो परियोजनाका लागि करिब ३० अर्ब रुपैयाँको जोहो गर्न मेलम्चीलाई शुरुदेखि नै सघाउँदै आएको एसियाली विकास ब्याङ्कसँग परामर्श शुरु भइसकेको छ।

भट्टराईले भने, “सन् २०१८ बाट सुरुङ निर्माणसम्बन्धी थप काम गर्नका लागि एडिबीसँग कुराकानी गरिरहेका छौँ। एडिबीको ऋण सन् २०१९मा प्राप्त होला तर पछि भुक्तानी हुने गरी कामहरु सन् २०१८ मै अघि बढाउन एडिबी सहमत भइसकेको छ।”

लार्के र याङ्ग्री नदी नजिकै भएकोले १२ किलोमिटर लामो नयाँ सुरुङ खनिसकेपछि ती नदीको पानी मेलम्चीको हालको मुहानसम्म आइपुग्ने अधिकारीहरुको भनाई छ।

उनीहरु भन्छन्, लार्के र याङ्ग्री नदीको पानी ल्याउने सुरुङ जोडिएपछि मेलम्चीको हाल निर्माणाधीन सुरुङबाट दैनिक ५१ करोड लिटर पानी सहजै काठमाण्डू ल्याउन सकिन्छ।

यद्यपि लार्के र याङ्ग्रीको पानी उपभोग गर्न काठमाण्डू उपत्यकाबासीले अहिलेकै योजना अनुसार निर्माण कार्य शुरु भएपछि अर्को ६ वर्ष कुर्नुपर्ने बताइन्छ।

तर झण्डै २० वर्षदेखि चर्चामा रहेको मेलम्चीको पानी अझै काठमाण्डू नझरिसकेको अवस्थामा लार्के र याङ्ग्रीको पानी काठमाण्डू ल्याउने योजना चाखलाग्दो सुनिन्छ।