सिरियाको डाबिक नगर आइएसबाट मुक्त

  • 16 अक्टोबर 2016
तस्वीर कपीराइट AP

विद्रोही कमाण्डर र पर्यवेक्षकले भनेका छन्, टर्कीको समर्थन पाएका लडाकुहरुले प्रतीकात्मक रुपमा महत्वपूर्ण ठानिएको सिरियाको डाबिक नगर इस्लामिक स्टेट समूहबाट फिर्ता लिएका छन्।

ब्रिटेनस्थित पर्यवेक्षक समूह सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार आइएस लडाकुहरु हटेपछि विद्रोहीले डाबिक नगरमाथि नियन्त्रण जमाएका हुन्।

आइएसको प्रचारबाजी र महालयका बेला हुने युद्धसम्बन्धी उसको भविष्यवाणीसँग जोडिएको सिरियाली उत्तरी सानो शहरले ठूलो अर्थ राखेको बताइन्छ।

सिरियाली विद्रोही समूहले गरेको बृहत् कारबाहीका क्रममा डाबिक नगरमाथि उनीहरुले कब्जा जमाएका हुन्।

संलग्न

सुल्तान मुराद विद्रोही समूहका कमाण्डर अहमद ओसमानले रोयटर्स समाचार संस्थालाई आइतबार बिहान बताएअनुसार उक्त समूहले डाबिक नगरको छिमेकी गाउँ सोरानलाई पनि आइएस लडाकुबाट नियन्त्रणमुक्त गराएको छ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार डाबिक नगरको रक्षाका लागि १२ सय आइएस लडाकु पठाइएका थिए।

तस्वीर कपीराइट AFP

उक्त नगर कब्जामुक्त गर्ने क्रममा आइएस लडाकुबाट ‘सामान्य प्रतिवाद’ भएको हम्जा लडाकु समूहका एकजना कमाण्डरले समाचार संस्था एपीलाई बताएका छन्।

सैफ अबु बकरले आइएस लडाकुहरु ठूलो शहर अल-बाबदेखि दक्षिणतर्फ लागेको बताए। कारबाहीमा करिब २ हजार विद्रोही लडाकुहरु संलग्न थिए।

कारबाही

उनीहरुलाई टर्कीले ट्यांक र हातहतियारबाट सघाएको थियो भने अन्तर्राष्ट्रिय गठबन्धनका लडाकु विमानले हवाई हमला गरी सघाएका थिए।

डाबिक नगर टर्कीको सीमादेखि १० किलोमिटर मात्रै टाढा पर्दछ।

आइएस र कुर्दिशसहितका लडाकुलाई सीमा क्षेत्रबाट धपाउन टर्कीले गत अगस्टमा कारबाही थालेको थियो।

गत सेप्टेम्बरमा टर्कीका प्रधानमन्त्रीले सिरियासँगको ९१ किलोमिटर सीमा ‘पूर्णरुपमा सुरक्षित’ तुल्याइएको र ‘आतंकवादी समूहहरुलाई पछाडि धकेलिएको’ बताएका थिए।