'भारत र चीन त्रिदेशीय साझेदारीमा सकारात्मक'

  • 16 अक्टोबर 2016
prachanda तस्वीर कपीराइट .
Image caption चिनियां राष्ट्रपतिसंग प्रचण्डले एक्लाएक्लै २० मिनेट भेटेको बताइएको छ

नेपाल, भारत र चीनका शीर्ष नेताहरुबीच निकै अप्रत्याशित ठानिएको एउटा त्रिपक्षीय भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले दुवै छिमेकी नेपालसहितको त्रिदेशीय साझेदारीका लागि सकारात्मक रहेको बताएका छन्।

उदाउँदा अर्थतन्त्रका रुपमा चित्रित पाँचवटा राष्ट्रहरुको समूह ब्रिक्सको शिखर सम्मेलनको मेसो पारेर बिमस्टेक (नेपाल पनि सदस्य रहेको आर्थिक मञ्च) सदस्य मुलुकहरुसंग हुन लागेको बैठकका लागि प्रचण्ड भारतको गोवामा छन्।

शनिबार चिनियां राष्ट्रपति सी जिनपिंगसंगको औपचारिक भेटपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितको त्रिपक्षीय भेटवार्ता भएको प्रधानमन्त्री प्रचण्डको निजी 'ट्वीटर ह्याण्डल'मा जनाइएको छ।

उनको निजी सचिवालयले उक्त 'ट्वीटर ह्याण्डल' चलाउंछ।

तर उक्त भेटबारे नेपालका प्रधानमन्त्रीको आधिकारिक ‘ट्वीटर ह्याण्डल’मा केही उल्लेख गरिएको छैन।

‘महत्वपूर्ण’

प्रचण्डको निजी ‘ट्वीटर ह्याण्डल’मा उल्लेखित विवरण अनुसार, भेटमा प्रधानमन्त्रीले ‘नेपाल, भारत र चीनबीच रणनीतिक साझेदारी आवश्यक रहेको विषय स्मरण’ गराएका छन्।

प्रचण्डलाई उद्धृत गर्दै उक्त विवरणमा भनिएको छ, "हामी दुई देश (भारत र चीन) बीच गतिशील पुल बनेर लाभ उठाउन चाहन्छौं। मैले(प्रचण्ड) भेटमा रणनीतिक साझेदारीको विषयमा महत्व दिएर कुरा राखे।"

"भारतका प्रधानमन्त्री र चिनियां राष्ट्रपतिले रणनीतिक साझेदारीबारे नेपालले राखेको प्रस्ताव महत्वपूर्ण छ र हामी यसमा सहमत छौं भन्नुभयो।"

भेटमा प्रचण्डले बुद्ध, पशुपति र जानकीले नेपाल, भारत र चीनलाई जोडेको स्मरण गराउँदै आधुनिक इतिहासमा नेपालले भारत र चीनबीच सुमधुर सम्बन्ध बनाउन पुलको काम गर्न सक्ने बताएको जनाइएको छ।

प्रचण्डको ट्वीटरमा जनाइएको विवरण अनुसार, चिनियां राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदी त्रिदेशीय साझेदारीको नेपाली प्रस्तावप्रति ‘सकारात्मक’ छन्।

चिनियां राष्ट्रपतिलाई उद्धृत गर्दै उक्त विवरणमा भनिएको छ, “(राष्ट्रपति) सीले चीन र भारतबीचको सम्बन्ध समदुरीमा राख्न नेपालले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा तीन देशको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो।"

चिनियां राष्ट्रपतिले ‘देशको भूगोल सानो र ठूलो हुनुले निर्णायक अर्थ नराख्ने भन्दै नेपालले भारत र चीनबीच पुलको काम गर्नसक्ने’ बताएको जनाइएको छ।

यसैगरी भारतीय प्रधानमन्त्री मोदीले भारत पुगेर चीन फर्किएका एकजना पुराना चिनियां दार्शनिकको प्रसंग जोड्दै ‘नेपाल, भारत र चीनबीच भौगोलिक, भावनात्मक र सांस्कृतिक मित्रता रहेको’ बताएको उल्लेख गरिएको छ।

मोदीको भनाइ भनी राखिएको विवरण अनुसार नेपालले प्रस्ताव गरेको त्रिदेशीय साझेदारीको विषयमा भारत पनि ‘सकारात्मक’ छ।

कसरी भयो भेट?

प्रचण्डको निजी 'ट्वीटर ह्याण्डल'मा चिनियां राष्ट्रपतिसंग एक्लाएक्लै भएको भेट सकिएपछि त्रिपक्षीय भेटवार्ता भएको उल्लेख छ।

तर कतिपय नेपाली सञ्चारमाध्यमले प्रचण्ड र सीबीच भेटवार्ता भइरहेका बेला मोदी भेटवार्ता कक्षमै पुगेको जनाएका छन्।

त्यस्ता विवरणबारे प्रधानमन्त्री वा उनका सहयोगीहरुबाट कुनै औपचारिक प्रतिक्रिया आइसकेको छैन।

तर गोवामै रहेका परराष्ट्रमन्त्री प्रकाशशरण महतले आइतबार बिहान बीबीसीसंग कुरा गर्दै उक्त त्रिपक्षीय भेटवार्ता अनौपचारिक रहेको र प्रधानमन्त्री प्रचण्ड चिनियां राष्ट्रपतिलाई भेटेर होटलको कुरुवा कक्षमा बसिरहेका बेला उक्त भेट भएको बताएका छन्।

उनले भने, “प्रधानमन्त्री चिनियां राष्ट्रपति बसेको होटलमै पुगेर उहांलाई भेटेपछि आफू बसेको होटल फर्कन कुरुवा कक्षमा बसिरहनुभएको थियो। चिनियां राष्ट्रपति पनि आफूसहित ब्रिक्स सदस्यका राष्ट्र तथा सरकारप्रमुखलाई दिइने रात्रीभोजका लागि केहीबेर कुरुवा कक्षमा हुनुहुन्थ्यो”।

"त्यतिनै बेला भारतीय प्रधानमन्त्री पनि आउनुभयो र तीनजना नेताबीच १५ मिनेटजति अनौपचारिक कुरा भएको हामीले थाहा पायौं।"

नेपालमा महत्वपूर्ण प्रभाव राख्ने दुवै छिमेकी भारत र चीनका शीर्ष नेतासहितको त्रिपक्षीय भेट, अनौपचारिक भए पनि, विरलै हुने गरेको जानकारहरु बताउंछन्।